सूर्यको उपासना गरेर छठ पर्व मनाइँदै

२०७१ कार्तिक १२ गते, बुधबार


काठमाडौ, १२ कार्तिक । मिथिलाञ्चल क्षेत्रमा श्रद्धा र निष्ठासाथ सूर्यको उपासना गरेर आज छठ पर्व मनाइँदै छ । कात्तिक शुक्ल चौथीका दिन नुहाइखाई विधिबाट सुरु भएको पर्वमा ब्रतालु आज षष्ठी तिथिका दिन निराहार ब्रत बसेका छन् ।
आज साँझ घर नजिकैको नदी, तलाउ र जलाशयमा बनाइएका रङ्गीचङ्गी घाटमा नुहाएर अस्ताउँदो सूर्यलाई ठकुवा, भुसुवा (कसार) लगायतका मिष्ठान्न परिकार र केरासहितका फलको अर्घ दिन्छ । ब्रतालुले कात्तिक शुक्ल सप्तमीका दिन अर्थात बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न हुने छ ।
यसअघि चौथीका दिन नुहाइधुवाई गरेर चोखोनितो खाएर ब्रतको सङ्कल्प गरेका ब्रतालुले पञ्चमी तिथिका दिन दिनभरि निराहार ब्रत बसेर राति सख्खरमा पाइएको खिरमात्र खाई खरना विधि सम्पन्न गरेका थिए ।
पर्वका अवसरमा महोत्तरीसहितका मिथिला क्षेत्रका गाउँनगर बस्तीमा घरघरैजसो सूर्यको गुणगान गरिएका भजनका क्यासेट बजाइएका छन् । पर्व विशेषमा घाट सजाउन युवाहरुको उत्साहजनक सहभागिता देखिएको छ ।
सूर्यको उपासना गरिने यो ब्रतको प्रभावले रोगब्याध नलाग्ने, सुख समृद्धि प्राप्त हुने, सन्तान सुख प्राप्त हुने र मनोवाञ्छित फल पाइने जनविश्वास रहिआएको छ ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु