देशभर चिसो बढ्यो
काठमाडौं । पश्चिमी वायुको प्रभावले मौसम बदली हुँदा मुलुकभर चिसो बढेको छ । अरब सागरबाट पाकिस्तान, जम्मु कश्मिर हुँदै नेपाल छिरेको पश्चिमी वायुको असरले मौसम परिवर्तन भएको र नेपालको पश्चिमी भेगबाट प्रवेश गरेको वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु पूर्वसम्म विस्तार भईरहेको र रातिसम्म देशैभर पुरै प्रभाव पार्ने मौसमविद्हरुले जनाएका छन् । काठमाडौँमा रातिदेखि नै पानी परेको छ ।
पश्चिमी वायुको असर आगामी मंगलबारसम्म रहने मौसमविद् राजाराम ढकालले बताए । पश्चिम नेपालका धनगढी, नेपालगञ्ज र वीरेन्द्रनगरमा क्षणिक वर्षा भएको छ भने देशको पूर्वी भेगमा आइतबार बेलुकीदेखि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
मौसममा परिवर्तन भई पानी परेपछि केही दिन तापक्रम घट्ने र उपत्यकालगायत देशभर चिसो बढ्ने बताइएको छ ।
उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस र अधिकतम तापक्रम १५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । उता, चिसो बढेसंगै मनाङका उच्च भागहरुमा हिमपात सुरु भएको छ ।