जथाभावी फोहोर फाल्ने फन्दामा
काठमाडौं । ललितपुर उपमहानगरपालिकाले जथाभावी फोहोर पयाँक्नेलाई कारबाही थालेको छ । सार्क सम्मेलनका बेला भएको सफाइ जस्तै कायम गर्न कडाइ गरेको हो ।उपमहानगरले जथाभावी फोहोर फाल्ने १० जनाबाट १ लाख रुपैयाँभन्दा बढी जरिवाना लिइसकेको छ । उनीहरूलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिएको नगर प्रहरी बलका प्रहरी नायब उपरीक्षक कदमलाल महर्जनले बताए । पाटनका विभिन्न चोक र वाग्मती नदीमा जथाभावी फोहोर फाल्नेलाई कडाइका साथ जरिवाना गरिएको उनले बताए । ‘जथाभावी फोहोर फाल्नेलाई निगरानीमा राखेका छौं,’ उनले भने ।
उनका अनुसार पहिलो पटक फोहोर फाल्नेलाई २ हजारदेखि ५ हजारसम्म जरिवाना गर्ने गरिएको छ । दोस्रो पटक पक्राउ पर्नेलाई त्यो भन्दा बढी र तेस्रो पटकमा नियन्त्रणमा लिने गरेको उनले बताए । पुल्चोक, नःटोल, महापाल, गाबहाल, मंगलबजार, लगनखेल, ग्वार्को चोकलगायत ठाउँमा जथाभावी फोहोर फालेमा पक्राउ गर्न नगर र नेपाल प्रहरी खटिएको उनले जनाए । ‘नागरिक आफंै सचेत हुनुपर्छ, हामीले मात्र कडाइ गरेर हुँदैन,’ महर्जनले भने ।
कुपण्डोलस्थित वाग्मती नदीमा ‘ड्राइ केमिकल पाउडर’ फाल्ने काभे्र स्थायी घर भई काठमाडौं पचली भैरव बस्ने एक युवकलाई १० हजार र उत्पादक कम्पनी अग्नि इन्टरप्राइजेजका सञ्चालकलाई ५० हजार रुपैयाँ जरिवाना गराएको छ ।
त्यस्तै, वाग्मती नदीमा मरेको कुकुर फाल्ने २ जनालाई जनही ५/५ हजार रुपैयाँ जरिवाना तिराएको छ । वाग्मती नदीमा फोहोर फाल्ने ४ जनालाई पक्राउ गरी जरिवाना तिराएको छ । यसैगरी पुल्चोकका एक व्यक्तिलाई पनि ५ हजार रुपैयाँ जरिवाना गराएको नगर प्रहरीले जनायो ।