देशभर चिसो बढ्यो

२०७१ पुष १८ गते, शुक्रबार

काठमाडौ । अचानक मौसम बदली हुँदा देशभर चिसो बढेको छ । अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण आज मौसम बदली भएको र देशभर चिसो बढेको मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौ उपत्यकामा भने केही चिसो कम भएको छ ।
केही ठाउँमा पानी परेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । मौसम बदलीसँगै आज उपत्यकामा छिटफुट तथा पश्चिमी भेगमा हल्का वर्षा भएको छ ।
मौसम विज्ञान विभागका अनुसार अझै दुई दिनसम्म मौसम बदली हुने र पश्चिमका हिमाली भेगमा हिमपात हुने सम्भावना छ । आकाशमा वादल लागेपछि बिहानका सबै हवाई उडानसमेत प्रभावित भएका छन् । काठमाडौको अधिकतम तामक्रम १३ र न्यूनतम ५ डिग्री रहेको छ ।
यता हिजो बिहान देखिनिरन्तर रुपमा परेको हिउले सिमकोट लगायतका स्थानमा साढ े एक फिट हिउँ जमेको छ ।
हिजो बिहान ६ बजे देखि निरन्तर रुपमा परेको भारी हिमपातले हुम्लाको जनजिवन पुर्ण रुपमा प्रभावित भएको छ । हिमपातका कारण आन्तरिक आवत जावत समेत पूर्ण रुपमा बन्द भएको छ भने चिसो अत्याधिक बढेको छ ।
हिजो सम्म माइनस १० मा झरेको तापक्रम आज माइनस १२ मा पुग्दा चिसो अत्याधिक बढ्नुका साथै जिल्लाका कार्यालयको कामकाज समेत ठप्प भएको छ ।
त्यस्तै जुम्ला लगायतका उच्च पहाडी जिल्लाहरुमा हल्का वर्षासँगै हिउँ परिरहेको छ ।
जुम्लाको माथिल्लो भागमा एक डेढ फिटसम्म हिउँ परेको छ भने सदरमुकाम आसपासको क्षेत्रमा आज विहानदेखि हिमपात भैरहेको छ । हिमपात सुरु भएसँगै चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । हिउँ परेको बेला सकेसम्म घरबाहिर ननिस्कन चिकित्सकहरुले सुझाव दिएका छन् । धेरै बेरसम्म हिउँ खेलेर नबस्न पनि उनीहरुले आग्रह गरेका छन् ।
चिसोका कारण ५ वर्ष मुनिका बालबालिकालाई नियोनिया हुन सक्ने भएकोले न्यानो पारेर राख्न र झोलिला खानेकुरा प्रशस्त खुवाउन सुझाव दिएका छन् । हिउँ परेपछि किसानहरु भने खुशी भएका छन् । यतिबेला परेको हिउँले गहुँ, जौ लगायतका अन्नबाली तथा स्याउ, ओखर लगायतका फलफूललाई राम्रो गर्ने जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
हिउँदको समयमा सिंचाइको अभाव हुने भएकोले जुम्ला सहितका हिमाली जिल्लामा हिउँले सिंचाइको काम गर्छ । जुम्लाका दक्षिणी मोहडामा पर्ने विभिन्न गाविसमा हिउँ संकलन पोखरी निर्माण भएकोले हिउँ संकलन गर्न पनि कृषि विकास कार्यालयले किसानलाई आग्रह गरेको छ ।
त्यस्तै एक्कासी मौसममा आएको बदलीसंगै सिन्धुपाल्चोकको हिमाली भेगमा हिमपात भएपछि जनजिबन कष्टकर बनेको छ ।
हिजोबाट चिसो बढेपछि जिल्लाबासीको दैनिकी कष्टकर बनेको हो । चिसो बढेका कारण बिद्यालयमा बिद्यार्थीको संख्या न्युन देखिएको छ भने अधिकांश सरकारी कार्यालयहरुमा सेवाग्राहीको चाप समेत घटेको छ ।
अघिल्लो दिनमा चहलपहल बढी हुने गरेका बजारपसल, चोक चौतारीका साथै बाहिर मानिसको उपस्थिती न्यून देखिएको छ । जाडोबाट बच्न अधिकांश मानिसहरु आज बिहानैदेखि घरवाहिर खासै निस्किएका छैनन् ।
जाडो भगाउन ठाउँठाउँमा आगो तापेर बस्नेको समेत संख्या बढेको छ । देशका धेरैजसो स्थानमा हल्का बर्षा हुनसक्ने जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ । मौसम बदलीसँगै सिन्धुपाल्चोकको पश्चिीमी भेगमा अहिले हल्का बर्षासंगै हिजो देखि नै हिमपात भैरहेको छ । मौसमविदका अनुसार अझै दुई दिनसम्म मौसम बदली हुने र पश्चिमका हिमाली भेगमा हिमपात हुने सम्भावना छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु