आर्यघाटमा आन्दोलन

२०७१ पुष ३० गते, बुधबार

काठमाडौँ । पशुपति आर्यघाटमा शव जलाउने कार्यमा संलग्न व्यक्तिहरूले आन्दोलन गर्दा आफन्तजन गुमाएर शोकमा परेका परिवारजनले अकल्पनीय सास्ती सहनु परेको छ।आर्यघाटमा रहेको घाट सेवा पसलबाट शव जलाउन आवश्यक सामग्री बिक्री वितरण बन्द गरेको, शव जलाउने कार्यमा संलग्न व्यक्तिहरूले काम नगरेको र दाउरा बोक्ने कार्यमा संलग्न व्यक्तिहरूले दाउरा बोक्ने कार्य नगरेका कारण मृतक परिवारजनले सास्ती भोग्नुपरेको हो ।
समयमै आवश्यक सामग्री नपाएको, उपलब्ध भएका दाउरासमेत नसुकेको र शव जलाउने व्यक्ति नपाएका कारण सबै कार्य आफँैले गर्नुपर्ने भएकाले मृतकका आफन्तजनले यस्तो सास्ती भोग्नुपरेको हो ।
आर्यघाटमा शव जलाउने कार्यमा संलग्न २७ जना, दाउरा ओसार्ने र चित्ता बनाउने कार्यमा २२ जना, क्रिया बस्ने २२ जना र घाट सेवा पसलमा १० व्यक्ति संलग्न रहेका छन् ।
घाट सेवा पसल हुँदाहुँदै समानान्तरको एउटै क्षेत्रमा अर्को पसल सञ्चालन गर्न पशुपति क्षेत्र विकास कोषबाट दिएको अनुमतिपत्र तत्कालै खारेज हुनुपर्ने, वातावरण शुल्कवापत कोषले रु २०० लिँदै आइरहेकामा हाल उक्त शुल्क वृद्धि गरी रु तीन हजार २०० बनाइएकाले उक्त शुल्क तत्कालै घटाई साविकअनुसार रु २०० मात्र लिनुपर्ने र विद्युतीय शवदाह गृह सञ्चालन भएपछि पनि यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीको कामको सुनिश्चितता हुनुपर्ने माग गर्दै ती व्यक्तिहरूले आज काम ठप्प गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु