आज माघे सङ्क्रान्ति
काठमाडौ। आज माघ एक गते अर्थात माघे सङ्क्रान्ति, स्नान, दानलगायत विभिन्न धार्मिक कार्य गरेर देशभर आज यो पर्व मनाइँदैछ ।आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । सौरमानको गणना बमोजिम आजदेखि ६ महिनासम्म सूर्य उत्तरायणमा प्रवेश गर्ने र धार्मिक मान्यताअनुसार सूर्य उत्तरायण भएको समय यज्ञ, दान आदि धार्मिक विधिका लागि शुभ मानिने भएकोले शुभ कर्महरु पनि यसै बेला गर्ने परम्परा छ ।
माघे सङ्क्रान्तिको अवसरमा आज बिहानैदेखि भक्तजनहरु नदी, तलाउ, त्रिवेणी, कुण्ड तथा जलाशयमा मकर स्नान गरिरहेका छन् । आजको दिन विशेष गरी देवघाट, वराहक्षेत्र, रिडी, कन्काईलगायतका स्थानहरुमा ठूलो मेला लागेको छ । स्नान, दान तथा पूजा गरिएपछि आआफ्नो घरमा तिलको लड्डु, तरुल, घीउ, चाकु, खिचडी, सेलरोटीलगायतका परिकार खाने चलन छ ।
यस वर्षको माघे संक्रान्तिमा झण्डै ७ करोड रुपैयाँको तरुलको कारोबार भएको छ । माग अनुसारको उत्पादन र आयात भएकाले भाउ भने खासै महंगो नभएको काठमाण्डूको मुख्य तरकारी बजार कालिमाटीका थोक बिक्रेताले बताएका छन् ।
गएको वर्ष जस्तै यसपाली पनि सर्लाहीबाट धेरै तरुल भित्रिएको थोक बिक्रेता रमेश पोखरेलले जानकारी दिनुभयो । केहि दिन अघि निकै बढेको तरुलको व्यापार बिहिबारदेखि भने विस्तारै कम हुने उहाँले बताउनुभयो । तर अरु तरुलको तुलनामा सर्लाहीको तरुलको कारोबार भने निरन्तर भैरहने उहाँको भनाई छ ।
सर्लाहीको तरुल तरकारीका लागि पनि प्रयोग गरिने भएकाले यसको माग सधैं हुन्छ । त्यहाँको तरुल काठमाण्डूको बजारमा असार महिनादेखि नै आउने गरेको छ । यसपाली सर्लाही, चितवन, नवलपरासी र पाल्पाबाट धेरै तरुल भित्रिएको छ । धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट भने थोरै मात्र आपूर्ति भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यसवर्ष रातो घर तरुल आज किलोको ८० देखि ८५ रुपैयाँ, हात्तीपाइले तरुल १ सय रुपैयाँ, सिमल तरुल ५० देखि ५५, तराईको तरुल २८ देखि ३० रुपैयाँ, आकाशे तथा पाताले तरुल ८० देखि ९० रुपैयाँ थोक मूल्यमा कारोबार भएको छ ।