लालपूर्जाविहीन गाउँ

२०७१ माघ ९ गते, शुक्रबार

काठमाडौं । गोरखा जिल्लाका उत्तरी भेगका दुई गाविसका तीन गाउँ लालपूर्जाविहीन छन् । तिब्बतसँग सिमाना जोडिएका सामागाउँ गाविसको वडा नं १, २, ३, ४, ५ र ६ मा रहेको सामागाउँ, सोही गाविसको वडा नं ७, ८ र ९ मा रहेको साम्दो गाउँ तथा ल्हो गाविसको स्याला गाउँका सबै घर लालपूर्जाविहीन भएका हुन् ।सामागाउँ गाविसका करिब सय घर, साम्दो गाउँका करिब ३५ घर र स्याला गाउँका करिब १०० घरको लालपूर्जा नभएको स्थानीय बासिन्दाको भनाइ छ । “विसं २०३८ देखि यहाँ बनेका सबै घरको लालपूर्जा छैन”, स्थानीय छिरिङ हिराचनले भने, “जनसङ्ख्या बढ्दैछ, बस्ती थपिँदैछ तर ३० वर्षदेखि गाउँमा नापी आएको छैन । हामीले सरकार फेरिएपिच्छे जग्गा नापी गर्न माग गरेका छौँ ।”
त्यस भेगका स्थानीय बासिन्दाले जिल्ला तहमा पटक–पटक नापी पठाउन आग्रह गरे पनि स्थानीय प्रशासनको सहयोग नपाएको गुनासो गर्दै आएका छन् ।
त्यसैगरी ३५ घरधुरी रहेको सोही गाविसको वडा नं ७, ८ र ९ को साम्दो गाउँका सबै घर लालपूर्जाविहीन छन् । हिराचनका अनुसार गाविसका जनप्रतिनिधिले दामासाहीले सार्वजनिक जग्गा बाँडफाँड गरेर बसोवास गरेका हुन् ।
“गाविसका जनप्रतिनिधि बसेर लम्बाइ सात मिटर, चौडाइ तीन मिटर भएको घडेरी बाँडेको हो”, उनले भने, “जङ्गलमा बस्न जाने कुरा भएन, बस्ती मिलेको र मूलबाटो परेको ठाउँमा दर्ता भएको जग्गा छैन । त्यही भएर बाध्य भएर सार्वजनिक जग्गा दामासाहीले बाँडेर लिएका हौँ । यसलाई सरकारले नीति बनाएर लालपूर्जा बनाइदिनुपर्छ ।”
त्यस्तै ल्हो गाविसको स्याला गाउँका करिब सय घर पनि सार्वजनिक जग्गामा छन् । लार्केपास गर्ने र मनास्लु हिमाल आरोहण गर्ने मूलबाटोमा रहेको यो बस्तीमा अहिले बनेका र अझै बन्दै गरेका घरको पनि लालपूर्जा नभएको स्थानीय प्रेमबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार अहिले बस्ती बस्न सुरु गरेको अर्को वञ्जम गाउँको पनि कुनै पनि घरको लालपूर्जा छैन । प्रोक गाविसको नाम्रुङ गाउँमा नयाँ बन्दै गरेको नौवटा घरको पनि लालपूर्जा छैन ।लामो समयदेखि जग्गा दर्ता गर्ने र लालपूर्जा बनाउने काम बन्द भएकाले यस्तो समस्या भएको नाम्रुङका छिरिङ याङ्जुम लामाले बताए ।
सरकारले ३० वर्षदेखि जग्गा दर्ता गर्ने क्रम रोकेकाले गोरखामा मात्र नभएर देशैभरि यस्तो समस्या भएको जिल्लास्थित मालपोत कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु