यस्तो पो जोडी
काठमाडौं, १५ माघ । बैबाहिक जीवनमा श्रीमान्–श्रीमतीको पहिलो वाचा नै सँगै मर्ने सँगै जिउने हुन्छ । यस्तो अवसर थोरै मान्छेले मात्र पाउँछन् । तर,सूर्योदयो नगरपालिका–९ गहिरीगाउँमा भने यस्तै अनौठो संयोग भएको छ । विवाहपछि ७० वर्षभन्दा लामो समय सँगै बिताएका एक दम्पती दुई घन्टाको अन्तरमा संसारबाट बिदा भए । उनीहरुको मृत्यु आफैंमा दुःखद् संयोग हो । यो संयोगसँगै उनीहरुले एउटै चितामा जलेर धर्तीबाट बिदा हुने सौभाग्य पनि पाएका छन् । जुन घटनालाई स्थानीयबासीहरु दुर्लभ दुखान्त मान्छन् ।
९१ वर्षीय काशीनाथ गौतमले मंगलबार बेलुकी ९ बजे धर्तीबाट सदाका लागि बिदा लिए । बुबाको मृत्यु शोकमा डुबेका काशीनाथका दुई छोरा र एक छोरीबीच दुई घन्टा नबित्दै आमा दिलकुमारीको पनि मृत्यु भयो । श्रीमान्को मृत्युशोकमा डुबेकी ७८ वर्षीया दिलकुमारीको अचानक टाउको दुख्यो । श्रीमान्को मृत्यु शोकमा डुबेकी उनले छोरालाई झारफुकका लागि झाँक्री बोलाउन आग्रह गरिन् । तर उनको अन्तिम वाक्य नै यही बन्यो । उनी पनि संसारबाट सदाका लागि बिदा भइन् । – राजधानी दैनिकवाट