नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ
काठमाडौं ।यातायात व्यवस्था विभाग परिसरमा बसेर नक्कली सवारी अनुमती पत्र -लाइसेन्स) बनाउँदै आएको एक गिरोह पक्राउ परेको छ । ट्राफिक प्रहरी महाशाखाले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका सो गिरोहलाई र्सार्वजनिक गरेको छ । महाशाखाको एक टोलीले बिहीबार उनीहरुलाई यातायात व्यवस्था विभागको कार्यालय अगाडि नै पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा काठमाडौंको सुन्डोल गाविस वार्ड नं. २ बस्ने वर्ष२४ का श्यामकृष्ण डंगोल र ललितपुर १३ कुसुन्ती बस्ने रमेश नापित छन् । सो गिरोहले विदेशमा जाने युवाहरुका लागि लाइसेन्स बनाउने काम गर्दै आएको महाशाखाले जनाएको छ । उक्त गिरोहले यातायात व्यवस्था विभाग परिसरमै बसेर लाइसेन्स बनाउने काम गर्दै आएको थियो । उनीहरुको यातायात व्यवस्था विभागका कर्मचारीहरुसँग पनि मिलेमतो रहेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख केसवप्रसाद अधिकारीले जनाएका छन् । यातायात व्यवस्था विभागका कर्मचारीसँग मिलेमतो नगरी यस्ता नक्कली लाइसेन्स बनाउनै नसकिने बताएका छन् । कसको मृत्यु भएको छ वा छैन भन्ने कुरा विभागका कर्मचारीहरुलाई मात्र थाहा हुने उनले दावी गरे ।पक्राउ परेकाहरुले एक दिनमा १२ देखि १५ वटासम्म दैनिक यस्ता लाइसेन्स बनाउने गरेको जनाएका छन् । त्यसका लागि उनीहरुले एउटा लाइसेन्सबाट १८ देखि २० हजारसम्म लिने गरेका थिए । यस्तो लाइसेन्स बनाउँदा मृत्यु भइसकेको व्यक्तिहरुको लाइसेन्स नम्बर राख्ने गरेको जनाएका छन । त्यस्तै नविकरण गर्दाखेरि होलोग्राम प्रयोग गर्ने गरेको बयान दिएका छन् । पक्राउ परेका अभियुक्तहरुले विगत ५ वर्षेखि यो काम गर्दै आएको बयान दिएका छन् ।
उनीहरुले बयानमा कृष्ण मुरारी भन्ने व्यक्तिले आफूहरुलाई उक्त लाइसेन्सका नम्बरहरु र होलोग्राम स्टिकर दिने गरेको बताएका छन् । मुरारी अहिले मोेबाइल स्वीच अफ गरेर फरार भएका छन् । मुरारी गिरोहका नाइके भएको प्रहरीको दावी छ । उनको गिरफ्तारीसँगै विभागका को को कर्मचारी सम्लग्न छन् भन्ने कुरा खुल्ने महाशाखा प्रमुख अधिकारीले जनाएका छन् ।
महाशाखा प्रमुख अधिकारीले यसका बारेमा अनुसन्धान भइरहेको जनाए । उनीहरुको बयानका आधारमा अरु गिरोहको पनि खोजि गरिरहेको अधिकारीले जनाए । केही दिनमै गिरोहका मुख्य नाइकेहरुलाई पक्राउ गरिने महाशाखा प्रमुख अधिकारीले बताए । – बुद्धशरण शाही