प्रत्येक वर्ष एक हजार नयाँ घर थप
काठमाडौं । विराटनगर उपमहानगरपालिकामा छ वर्षको अवधिमा छ हजार ५८३ घर थपिएका छन् ।उपमहानगरपालिकामा आव २०६५/६६ देखि २०७०/७१ सम्मको तथ्याङ्कअनुसार नगर क्षेत्रमा उक्त सङ्ख्यामा घर थपिएका हुन् । उपमहानगरपालिकाका अनुसार नक्सा पास भएर बर्सेनि एक हजारभन्दा बढीले नक्सा पास गरी घर बनाउँदै आएका छन् । स्वीकृति नलिई घर निर्माण गर्नेको सङ्ख्या पनि त्यति नै छ ।
पूर्वी नेपालकै पुरानो नगर तथा सुविधासम्पन्न सहरका रूपमा विराटनगर विकसित भएपछि बाहिरी तथा सोही जिल्लाबाट मानिस नगर बसाइँ सर्ने क्रम बढेको बताइएको छ । यो छ वर्षमा सबैभन्दा बढी आव २०७०÷०७१ मा एक हजार १६९ नयाँ घर निर्माण भएको उपमहानगरपालिकाले जानाएको छ ।
उपमहानगरपालिकाभित्र बसाइँ सरेर आउनेमा पूर्वी पहाड ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम र धनकुटाका धेरै छन् । त्यस्तै तराईका सप्तरी, सिरहा, सुनसरी, झापा र जिल्लाका मानिस पनि बसोबासका लागि यहाँ आउने गरेका छन् । उपमहानगरपालिकाका अनुसार नगरक्षेत्रमा बसाइँ सरेर आउनेहरूले निर्माण गर्ने घरमध्ये करिब ९० प्रतिशत पक्की छन् ।