नेपाल–भारत सीमाको अनुगमन गरिने

२०७१ माघ २७ गते, मंगलवार

काठमाडौं, २७ माघ । नेपाल र भारतका सीमावर्ती जिल्लाका अधिकारीले आगामी महिनामा यी दुई देशबीच सीमाको अनुगमन गर्ने भएका छन् ।संयुक्त टोलीले सीमाको अनुगमन गर्न लागेको चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले जानकारी दिए । सीमाको विषयमा केही दिनअघि सीमावर्ती क्षेत्रमा पर्ने जिल्लाका अधिकारीको बैठकले सो निर्णय गरेको प्रजिअ विकेले बताए ।चितवनको वाल्मिकीमा रहेको ४८५ नम्बरको सीमास्तम्भबाट उक्त अभियानको सुरुआत गर्न लागिएको हो । उक्त टोलीले सीमा स्तम्भको अध्ययन, पुनःनिर्माण र दशगजा क्षेत्रको अतिक्रमणको समेत अध्ययन गर्ने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
चितवनको वाल्मिकी आश्रम, माडीको, सोमेश्वर क्षेत्र चितवनको सीमा क्षेत्र हो । वीरगन्ज, नवलपरासी, पूर्वी नेपाल र पश्चिम नेपालका विभिन्न क्षेत्र भारतसँग सिमाना जोडिएका छन् ।उक्त क्षेत्रमा पटकपटक सीमा मिचिएको र भारतीय सुरक्षा अधिकारीहरूबाट ज्यादती भएको भन्ने समाचार बेलाबेलामा बाहिर आइरहेको छ । त्यसैले वास्तविक अवस्था पत्ता लगाउन अनुगमन गर्ने निर्णय भएको प्रजिअ डा विकेले बताए । पछिल्लो समयमा चितवनमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी खटिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु