मध्यपहाडी लोकमार्ग पाँच वर्षभित्र

२०७१ फाल्गुन २ गते, शनिबार

काठमाडौं । पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको विकल्प मानिएको मध्यपहाडी लोकमार्ग अब पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । ०७६ सालसम्म १ हजार ७ सय ६५ किलोमिटर लामो लोकमार्ग बनाउने प्रयास जारी छ । पाँच वर्षअघि आर्थिक वर्ष ०६४र६५ बाट सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्ग अर्थात पुष्पलाल मार्गको सम्पूर्ण ट्रयाक खोल्ने काम पूरा भइसकेको विभागले जनाएको छ । करिब १ हजार किलोमिटर पहिलेकै पुरानो चल्तीको सडक र थप ७ सय ५६ नयाँ ट्रयाक खोलेर शुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको छ । पूर्वमा नेपाल–भारत सीमानाको पाँचथर चियो भन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल–भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ । यो लोकमार्गले मध्य पहाडका २४ जिल्ला र २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्षरूपमा फाइदा पुग्नेछ ।
मध्य पहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ ।
त्यस्तै काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई मध्यपहाडी लोकमार्गले समेट्छ । यो मार्गको मध्यविन्दू नुवाकोटको पाती भन्ज्याङलाई बनाइएको छ । शुरुमा काठमाडौं जोड्ने भनिए पनि पछि काभ्रेको पाँचखालबाट सिन्धुपाल्चोक हुँदै नुवाकोटतिर लगिएको हो ।
पूर्व–पश्चिम जोड्ने १७ सय ६५ मिलोमिटर लामो उक्त लोकमार्गको केही भागमा स्तरोन्नति र कालोपत्रे गर्ने काम पनि भइरहेको छ । यस वर्ष पूर्वमा ३० र पश्चिममा ३० किलोमिटर कालोपत्रे हुँदैछ । बेला–बेला आउने मुआब्जा वितरण विवाद, निर्माण सामाग्री अभाव, सार्वजनिक खरिद सम्बन्धी ऐन र अन्य विविध कारणले लक्ष्यअनुसार काम हुन नसकेको सनियर डिभिजनल इन्जिनिर रोहितकुमार बिसुरालले बताए । दश वर्षमा सम्पन्न गर्ने भनिए पनि मध्य पहाडी लोकमार्गको काम जसरी भइरहेको छ, त्यो हेर्दा सम्भव देखिँदैन । नेपाल सरकारको आन्तरिक स्रोत साधनबाटै सम्पूर्ण खर्च व्यहोरिने गरी बनिरहेको यो लोकमार्गमा हाल सञ्चालनमा रहेका कतिपय साना राजमार्ग र सडक खण्डहरू जोडिनेछन् ।
कुल १ हजार ७ सय ६५ किलोमिटर लामो लोकमार्गको ७ सय ७५ किलोमिटर नयाँ ट्रयाक खुलिसकेकाले त्यसको स्तरोन्नति र कालोपत्रेको काम अहिले भइरहेको छ । एक हजार किलोमिटर भने यसअघिकै पुराना सडकहरू हुन् । हाल ट्रयाक खोलिएको सम्पूर्ण क्षेत्रमा आवत–जावत गर्न सकिने अवस्था रहे पनि तोकिएको मापदण्डअनुसार दोहोरो आवागमन गर्न मिल्ने दुई लेनको बनाउने काम भने जारी छ ।
विभागका अनुसार १ हजार ७ सय ६५ किलोमिटर लामो मध्यपहाडी लोकमार्गको चौडाई साढे ८ मिटरको दुई लेन हुनेछ । यो लोकमार्गमा चल्ने सवारी साधनको गति ५० किलोमिटर प्रति घण्टा तोकिनेछ । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गका लागि सरकारले बजेटमा कञ्जुस्याइँ गरेको छैन । तर, पनि काम भने सोचेजस्तो हुन सकेको छैन । मध्यपहाडी लोकमार्ग नेपालको सम्वृद्धिको एउटा प्रमुख मेरुदण्ड बन्नेछ । एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्ला जान पूर्व–पश्चिम महेन्द्र राजमार्ग झरेर पुनः पहाड चढ्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु