अन्तर्राष्ट्रिय विमानस्थल सुचारु , तीन दिनसम्म २४ घण्टा सेवा
काठमाडौं, फाल्गुन २४ । चार दिनदेखि ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हिजो बेलुकीबाट सुचालु भएको छ । विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त टर्किस एअरलायन्सको विमानलाई त्यहाँबाट हटाइएपछि विमानस्थल सुचालु भएको हो । विमानस्थल सुचालु भएसँगै तीन दिनसम्म चौविसै घण्टा विमान उडान भर्ने र अवतरण गर्ने गरी तयारी गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
भारतीय र नेपाली प्राविधिक टोलीको लगातारको प्रयासलाई टर्कीबाटै आएका ७ जना प्राविधिकहरुले सहयोग गरेपछि दुर्घटनाग्रस्त विमानलाई धावनमार्गबाट हटाइएको हो ।
धावन मार्गबाट विमान पन्छाएर पार्किङस्थलमा पुर्याएसँगै अन्तर्राष्ट्रिय उडान सुचालु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
विमानमा रहेको तेल र कार्गोको सामान निकालेर विमान धकेल्दै र तान्दै पार्किङस्थलमा पुर्याइएको हो ।
११ सदस्यीय चालक दलसहित २ सय २५ यात्रु बोकेर टर्कीको इस्तानबुलबाट आएको विमान बुधवार विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको थियो ।