साँघुटार बजारमा आगलागी एक जनाको मृत्यु
काठमाडौ,२७ फागुन । रामेछापको साँघुटार गाउँ विकास समिति वडा नं १ साँघुटार बजारमा गएराति १० बजेतिर स्थानीय हरिबहादुर श्रेष्ठको घरबाट शुरु भएको आगलागिले गणेशबहादुर श्रेष्ठसहित बजारका ३ वटा घर जलेर नष्ट भएका छन् ।
करेन्ट सट भएर शुरु भएको आगलागी बजारमा बढ्दै जान थालेपछि बजारबासी तथा प्रहरीको सक्रियतामा एक घण्टा पछि आगो नियन्त्रणमा आएको थियो । जलेर मृत्यु हुनेमा गणेश बहादुर श्रेष्ठको होटलमा बास बस्ने व्यक्ति भएको स्थानीय निलहरी घिमिरेले बताए । उनको परिचय खुल्न सकेको छैन । उनको आधा शरीर डढेर चिन्न नसक्ने अवस्थामा रहेको बताइएको छ ।
आगलागीमा अर्का एक जना व्यक्ति घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासीनीले बताउनु भयो । आगो बजारमा फैलदै गएपछि रामेछाप बजारबाट नेपाली सेना र सदरमुकाम मन्थलीबाट थप प्रहरी पठाइएको प्रमुख जिल्ला अधिकारी मरासिनीले बताउनु भयो ।
आगो फैलन नदिनका लागि बजारमा जोडिएको घर भत्काउने समेत स्थानीयले प्रयास गरेका छन् । आगो पूर्ण नियन्त्रणमा नआएको भएपनि बजारमा फैलनबाट भने रोकिएको स्थानीयहरुले जानकारी दिएका छन् । साँघुटार बजारमा जोडिएका घरहरु भएकाले आगो फैलने डरले स्थानीयहरु सबै जम्मा भएर तत्काल आगो नियन्त्रणका लागि जुटेका थिए ।- चाहना योन्जन