ताप्लेजुङ सदरमुकाममा भीषण आगलागी
काठमाडौँ, १० चैत । ताप्लेजुङको सदरमुकाममा भीषण आगलागी भएको छ । जिल्लाको सदरमुकाम फुग्लीङ बजारमा लागेको आगोले अहिलेसम्म १२ घर जलेर नष्ट भएका छन् । सोमबार साँझ एउटा होटेलबाट लागेको आगोले सदरमुकामका सरकारी कार्यालयसहित थुप्रै घर र पसलहरु जलाइरहेको बताइएको छ । हावा चलिरहेको र जिल्लामा कुनै पनि आगो निभाउने दमकल नभएका कारण आगो नियन्त्रण आउन नसकेको बताइएको छ । जिल्लास्थित सेना, प्रहरी र सर्वसाधारणले आगो निभाउने प्रयत्न गरे पनि अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन ।
आगोले ताप्लेजुङ नगरपालिका ४ तोक्मेडाँडा स्थित मुक्ति पौडेलको घर जलेर नस्ट भएको छ। उनको घरमा रहेको शान्ति समितिको कार्यालय पनि खरानी भएको छ । त्यसैगरी भरतकुमार श्रेष्ठ, हर्क श्रेष्ठ, साँवा सइलु, डम्बर श्रेष्ठ, भरतकुमार खरेल, शारदा श्रेष्ठ, निलम न्यौपाने लगायतका घर जलेर नस्ट भएका छन् । निलम न्यौपानेको घरमा रहेको रेड पान्डा नेटवर्कको कार्यालय तथा जनमुखी कृषि सहकारी संस्थाको कार्यालय पनि जलेर खरानी भएको छ । स्थानीयवासीका अनुसार आगो पूर्वेली होटलबाट सुरु भएको हो । तर, त्यसको पुष्टि भएको छैन । आगोले उक्त होटल पनि जलेर नष्ट भएको छ ।
जिल्लामा दमकल नभएकोले पाँचथरमा सम्पर्क गरिएको तर पाँचथरमा पनि दमकल नभएपछि अहिले इलामबाट दमकल ल्याउने प्रयत्न भइरहेको बताइएको छ । तर, इलामबाट दमकल आइपुग्न करिब ६ घन्टा लाग्ने भएकोले आगोले अझै ठूलो क्षति गर्न सक्ने स्थिति छ । -आलोक माबुहाङ