अग्निपीडितलाई तत्काल राहत प्रदान गर्ने निर्णय
काठमाडौँ १० चैत । फुङलिङमा भएको आगलागीसम्बन्धी छलफल गर्न मंगलबार बिहान बसेको दैवी प्रकोप उद्धार समितिको बैठकले तत्काल गर्न सक्ने उद्धार तथा राहत वितरणका विषयमा विभिन्न निर्णयहरु गरेको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डम्वरुप्रसाद निरौलाका अनुसार बैठकले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य संघका प्रतिनिधिद्वारा क्षतिको विवरण संकलन गर्ने निर्णय भएको छ ।पीडित परिवारलाई प्रतिपरिवार चामल ३० किलो, दाल १ किलो, चिउरा २ किलो, नुन २ किलो, बिस्कुट ६ वटा, चाउचाउ चार प्याकेट, पानी, तेललगायतका सामाग्री तत्काल वितरण गर्ने दैवी प्रकोप उद्धार समितिले निर्णय गरेको छ । आगलागीबाट पीडित भएकाहरुसँग उनीहरुको समस्याका विषयमा अन्तरक्रिया गर्ने निर्णय पनि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।