दुःखव्यक्त गर्दै लिम्बुवान बन्द फिर्ता

२०७१ चैत्र २५ गते, बुधबार

तीनदिने आमहडताल अकस्मात फिर्ता गरिएकोप्रति संघीय लिम्बुवान पार्टी, नेपालले आश्चर्य र दुख ब्यक्त गर्दै प्राबिधिक असमान्जस्यता नआओस् भनी ९ जिल्ला लिम्बुवान क्षेत्रमा आमहडताल स्थगित गरेको छ । लिम्ब पहिचान र अधिकारसहितको संघीयताका लागि संयुक्त रुपमा आन्दोलन गर्न गठन गरिएको ३० दलीय गठबन्धनले फाल्गुन १६ गते खुल्ला मञ्चमा लाखौं जनताको उपस्थितिमा सम्पन्न गरेको ऐतिहासिक आमसभाको हप्ता दिनभित्रमा सडक आन्दोलन घोषणा गरिनु पर्दथ्यो । तर, वार्ता र यस्तै उस्तै कारण देखाएर उक्त आमसभाको एक महिना सात दिनपछि चैत्र २३ गतेदेखि तीन दिने आमहडताल आब्हान गरियो । तीन दिने बन्दको शुरुको दिन चैत्र २३ गते देशभर ३० दलीय नेता कार्यकर्ताले साहसका साथ राज्यको मुकाविला गरे, दर्जनौं साथीहरु घाइते भएका छन् पक्राउ प्ररेका छन् । २३ गतेको दमनको विरुद्धमा २४ गते देखि नया रणनीति र साहसका साथ जनता सडकमा ओर्लने तयारी लिम्बुवानदेखि सबै ठाउँमा थियो र यो आन्दोलन नयाँ बर्ष प्रवेशसँगै संघीय राष्ट्रिय जन आन्दोलनको रुपमा विकाश हुने निश्चित थियो ।
तर, गठबन्धनको संयोजकज्युको विशेष पहलमा अप्रत्याशितरुपमा तीनदिने बन्द फिर्ता गरिएको छ ।त्यो त सबैलाई थाहा भएकै कुरा हो नि क्रान्ति आन्दोलन सहज हुँदैन । आज सत्ता ब्युरोक्रेसी, मिडिया, अर्थतन्त्र, युनिभर्सिटीमा दाह्रा गाडेर बसेको समुदाय अहिलेको अवस्थासम्म आउनका लागि आन्दोलनका नाममा नेपालमा के के गरे, त्यो सबैलाई थाहा नै छ नि ।
आज उत्पीडित समुदायहरुले आफ्नो मुक्तिका लागि आन्दोलन गर्दा देश नै डुबिहाल्छ भन्नु पूर्वाग्रह मात्र हो । यसरी पहिचान र अधिकारका लागि भनेर निर्णायक रुपमा उठेको आन्दोलनलार्इ अकस्मात फिर्ता लिइनुले विभिन्न प्रश्नहरु जन्माएको छ । परिवर्तनकारी शक्ति भनेर चिनिएको पक्ष पनि कांगेस एमालेसँगै पहिचान बिरोधी धारमा उभिने रिहर्सल हो कि वा जसरी अहिलेको संघीय जनआन्दोलनले यहाँका आदिवासी मधेसी दलित महिला उत्पीडित समुदायहरुलार्इ संवैधानिकरुपमा सशक्तीकरण गर्न खोजिरहेको छ त्यो अवस्था चाँहि यहाँका यथाथिस्तिबादी क्रान्तिकारी कसैलाई पनि सही नसक्नु हुने हो कि भन्ने जिज्ञासा उठेको छ ।
आजका दिनसम्म ३० दलीय गठबन्धनमा नै रहेर आन्दोलन गरिरहेकाले उही गठबन्धनको कसैले फिर्ता लिने र कसैले निरन्तरता दिँदा जनतामा असमान्जस्यता हुने हुँदा आश्चर्य ब्यक्त गर्दै भए पनि तीन दिने आमहडताल लिम्बुवान क्षेत्रमा हाललाई स्थगित भएको जानकारी गराउदछौं ।
पहिचान र अधिकारसहितको संघीयताको आवाज नेपाली धरतीबाट निस्केको आवाज हो, यी आवाजहरु कुनै दार्शनिकको पुस्तक र कुनै युनिभर्सिटीको लेक्चर सेरिजबाट निस्किएको आवाज होइन, त्यसैले नेपाली धरती रहुन्जेल यी आवाजहरु उठिरहने छन् । कुनै बाहनामा यी आवाजहरुलाई बिर्सनु वा दबाउनु खोज्नु त्यो क्षणिक भ्रम हो ।अहिलेको घटनाक्रमहरु हेर्दा नेपालले बर्षौदेखि प्रतिक्षा गरिरहेको पार्टी,आन्दोलन र नेतृत्व उदाउने उपयुक्त वातावरण बन्दै गएको देखिन्छ, किनकि अपेक्षाहरु मर्दै गएपछि मान्छेले आफ्नै यात्रा शुरु गर्छ ।
सम्पूर्ण जनताहरुलाई हतोत्साही नहुन आग्रह गर्दछौं र घाइतेहरुको स्वास्थलाभको कामना गर्दछौ । ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य प्राप्तिको आन्दोलन कुनै हालतमा नरोकिने दृढता ब्यक्त गर्छौ, त्यति मात्र होइन नेपालमा चलिरहेको पहिचानको आन्दोलनको केन्द्रबिन्दु लिम्बुवानलार्इ बनार्इ छाड्ने प्रण पनि गर्दछौं । जय लिम्बुवान, संघीय अभिभादन । – कुमार लिङदेन

प्रतिक्रियाहरु

[anycomment]