बागमती सफाइ महाअभियानमा नेतादेखि कर्मचारीसम्मको चहलपहल

२०७१ चैत्र २८ गते, शनिबार

काठमाडौं,२८ चैत । बागमती सफाइ महाअभियान १०० औं हप्तामा पुगेको अवसरमा शनिबार बिहानैदेखि बागमती नदी किनारमा चहलपहल सुरु भएको छ । वागमती नदीको दुर्व किनारमा ५६ किलोमिटर लामो मानव साङ्लो बन्दैछ । बागमतीको मुहान सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्मको २८ किलोमिटर क्षेत्रमा ५० हजारभन्दा धेरै सहभागी भई बन्ने मानव साङ्लोमा राजनीतिक दलका शीर्ष नेता, कर्मचारी र स्थानीयबासिन्दाको समेत सहभागिता हुँदैछ । मानव साङलोमा प्रधानमन्त्री सुशील कोइराला, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी हुँदैछन् ।
प्रमुख तीन राजनीतिक दलले आ–आफ्ना नेता तथा कार्यकर्तालाई अभियानमा सहभागी हुन निर्देशन दिइसकेका छन् र शीर्ष नेताहरूले पनि यो अभियानमा सक्रिय सहभागी हुने जनाइसकेका छन् । मुलुकले नै महाअभियानको रुपमा चित्रण गरेर सफाइबारे सकारात्मक सन्देश दिन लागेकाले सबैले आ–आफ्ना कार्यकर्तालाई सहभागिताका लागि परिचालन गर्न लागेका हुन् ।
मानव सभ्यताको अनुपम नमुनाको रुपमा रहेको बागमती नदीलाई सफा बनाउन सबै राजनीतिक दल, नागरिक समाज, पेसागत सङ्घ तथा सङ्गठनले सक्रिय सहभागिता जनाउँदै आएका छन् ।
सत्तारुढ नेपाली काँग्रेसले महाअभियानमा सहभागी हुन आफ्ना नेता कार्यकर्तालाई सहभागी हुन निर्देशन दिइसकेको छ । काँग्रेस उपसभापति रामचन्द्र पौडेल नेतृत्वको टोलीले सानेपा क्षेत्रमा सरसफाइ अभियानमा सहभागी हुने भएको छ । काँग्रेसले आफ्ना सभासद्लाई पायक पर्ने स्थानमा सहभागी हुन निर्देशन दिएको छ ।
नेकपा(एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एक टोली नै सहभागी हुनेभएको छ । अध्यक्ष ओली नेतृत्वको टोली थापाथली क्षेत्रमा खटिनेछ । टोलीमा उपाध्यक्ष भीमबहादुर रावल, उपमहासचिव विष्णु पौडेल, सचिवद्वय प्रदीप ज्ञवाली र भीम आचार्य हुनुहुन्छ । यस्तै सम्पूर्ण सभासद् र अन्य नेता तथा कायर्कर्तालाई पनि थापाथलीमा सहभागी हुन निर्देशन दिएको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै बल्खुमा वरिष्ठ नेता झलनाथ खनाल, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव पृथ्वी सुब्बा गुरुङ, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल तथा केन्द्रीय सदस्यहरू कृष्णगोपाल श्रेष्ठ, राधाकृष्ण मैनाली, सूर्य थापा, जीवनराम श्रेष्ठ र बिना श्रेष्ठलगायत अन्य नेता तथा कार्यकर्ताहरू सहभागी हुनुहुनेछ ।
सङ्खमूल क्षेत्रमा नेता माधवकुमार नेपाल स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्यूरो सदस्यहरू विष्णु रिमाल, बिन्दा पाण्डे र सानु श्रेष्ठ, नेताहरू सिद्धिलाल सिंह र गोपाल शाक्य तथा केन्द्रीय सदस्यहरू ठाकुर गैरे, सावित्रा भुसाल, रामकुमारी झाँक्री, रामकुमार ज्ञवाली र सुशीला नेपाललगायत अन्य नेता तथा कार्यकर्ताहरू सहभागी हुनुहुनेछ ।
काठमाडौंं, ललितपुर, भक्तपुर र विशेष जिल्ला कमिटीलगायतका स्थानीय नेतृत्वसँग समन्वय गरी पायक पर्ने तोकिएका स्थानमा सुन्दरीजलदेखि चोभारसम्म बागमती सरसफाई अभियानमा सहभागी हुन पार्टी र जनसङ्गठनका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुने बताइए पनि स्थान भने टुङ्गो लागिसकेको छैन । अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काकाअनुसार अध्यक्ष दाहाल सहभागी हुनुहुनेछ तर स्थान भने किटान गरिसकिएको छैन । एमाओवादी महासचिव कृष्णबहादुर महराले महाअभियानमा सहभागी हुन निर्देशन दिइसक्नु भएको छ ।
पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराई वागमती पुल आसपासको क्षेत्रमा सहभागी रहनुहुने छ । एमाओवादीको संसदीय दलका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले आफूलाई पायक पर्ने स्थानमा सहभागी हुन सभासद्हरूलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ नेतृत्वका प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरू थापाथली कुपण्डोल क्षेत्रमा रहनुहुने छ । नेकपा–माओवादीले पनि महाअभियानमा सहभागी हुन आफ्ना नेता तथा कार्यकतालाई अपिल गरेको छ । सो पार्टीका प्रवक्ता पम्फा भुसाल विश्वनिकेतन नजिकै सङ्कटा पुल क्षेत्रमा सहभागी हुनुहने भएको छ ।
सर्वोच्च अदालतले प्रधानन्यायाधीश रामकुमार प्रसाद साह नेतृत्वको टोली पशुपति तिलगङ्गा क्षेत्रमा सहभागी हुनुहुनेछ । सर्वोच्चका सहायक प्रवक्ता बाबुराम दाहालकाअनुसार सर्वोच्चका सबै कर्मचारीलाई समेत सोही स्थानमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, पुनरावेदन अदालत पाटन, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला अदालतले पनि विभिन्न स्थानमा सहभागी हुने भएका छन् ।
नेपाली सेनाले विभिन्न स्थानमा पाँच हजार हजार जनशक्ति परिचालन गर्ने भएको छ । यसैगरी, महाअभियानमा सशस्त्र प्रहरी बलले तीन हजारभन्दा बढी जनशक्ति परिचालन गर्ने भएको छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु