आज मातातीर्थ औँसी; आमाप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

२०७२ बैशाख ५ गते, शनिबार

काठमाडौं, ५ बैशाख ।आज मातातीर्थ औँसी; आमाप्रति श्रद्धाभाव प्रकट गरी भव्यताका साथ् मनाइँदैछ । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर आज मुलुकभर मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो ।पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार औँसीका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । यसदिन आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।“जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ । आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैमा महत्वपूर्ण छ,” – गौतमले बताए ।
दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीमा काठमाडौँको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।
श्री स्वस्थानी व्रतकथाअनुसार यस तीर्थमा सतीदेवीको अङ्ग पतन भइ मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । उक्त स्थानमा शास्त्रीय विधिबाट गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सन्तानले जीवनभर सुख पाउने विश्वास गरिन्छ ।
पुण्य प्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवम् अनेक तीर्थव्रतभन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने प्राचीन जनविश्वास रहेको स्थानीयवासी नारायण आचार्यले बताए ।
प्रचलित किंवदन्तीमा भगवान् विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो । उहाँलाई अपरिचित र नौलो देखेर स्थानीयवासीले आक्रमण गरे । उनीहरूबीचको घमासान युद्धका कारण दुवै पक्ष आकुल व्याकुल बन्न पुगे । उक्त समयमा सीतालाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीरामले ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै गङ्गाजीको स्तुति गर्दै तीनपटक मन्त्र उच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बनेको भनाई छ ।
त्यहाँ सीताले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुङ्गाको मूर्तिमा कोरिन पुग्यो ।
किंवदन्तीअनुसार उक्त समयमा त्यहाँ घना जङ्गल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालो मुखमा रोटी नराखी कुण्ड भएतिर मात्र जाँदो रहेछ । उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने बेलामा गोठालोले एक्लै फर्किन नमानी आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैँ वैशाख औँसीको दिन यो तीर्थमा आउनु भन्ने वाचाका साथ छोरालाई सम्झाएर फर्काइछन् । त्यसै बेलादेखि यस ठाउँको नाम मातातीर्थ रहेको हो ।
यसै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।
यसैगरी, आमाको सम्झनामा उखानटुक्का पनि धेरै प्रचलित छन् । आमालाई सम्झाउने केही उखान जानी राखौ :
आमाको दूधको भारा कति गरे पनि तिरिंदैन
आमा छउञ्जेल माइति
आमा छउञ्जेल मीठो मसिनो, बाबु छउञ्जेल लामो चोलो
आमा छोरीको ऐचोपैंचो, बाबु छोराको लेनदेन
आमा जगल्टे, छोरो पखेटे, नाति मट्याङ्ग्रे
आमाजस्ती सासू भए किन आउँथे आँसु
आमा झुत्री, छोरी कुप्री, नातिनी सल्सलाउँदी
आमा तिरको मामा न बाबु तिरको काका
आमा तिरको साइनु न बाबु तिरको साइनु
आमा दयामा पाइन्छिन्, बाबु पाउन मात्र दुर्लभ छ
आमा दिन्छे, छोरी खान्छे
आमा देखे भोक हराउँछ
आमा, धानका भातको कुरा गर न, खाए जस्तो त हुन्छ
आमा पछिको मामा, दाजु पछिकी भाउजु
आमा पट्टकिो न बाबु पट्टकिो
आमा बाबु उठेका, छोराछोरी सुतेका
आमा बाबुको थाप्लोमा गीर खेल्ने, स्वास्नीले हप्काएपछि लगलगी काम्ने
आमाबाबुको नाता पुरानो, छोराछोरीको नाता नयाँ
आमा बाबुको मन छोरा छोरी माथि, छोरा छोरीको मन ढुंगामुढा माथि
आमा बाबुको माथि हिंड्ने, स्वास्नीलाई शीरमा धर्ने
आमा बाबुको माया छाती भित्र, तरुनीको माया अँगालोभित्र
आमाबाबु थिएनन्, बिहे गरिदिएनन्
आमा बाबुले भनेको मानिन, आफुले जानिन, बेला पनि बित्यो, बुद्धि पनि पलायो
आमा बिनाको के घर, बाबु बिनाको के थर
आमा बिनाको घर के काम
आमा बिनाको संसार सधैं अँध्यारो
आमा भए बालाई किन अर्काको दोष लाग्थ्यो रु
आमा भन्दा छोरी चर्की
आमा भन्दा छोरी जान्ने
आमा भन्दा छोरी बाठी
आमा भीख माग्न दिन्नन्, बाबु खान दिंदैनन्
आमा मरेको छोरो बिग्रिदैन, बाबु मरेको छोरो सप्रँदैन
आमा र भाउजु एउटै हो
आमा लहरे, बाबु पहरे, दाजु कोपिले, भाइ भुकुल्ले
आमालाई छोराका विहाको कुरा मात्रै गर्न पाउँदा पनि बुहारी ल्याए जस्तै लाग्छ
आमालाई छोराछोरीलाई गर्भैदेखि लात हान्छन्
आमाले काटेको र बाबुले चाटेको
आमाले कुट्दा दुख्दैनन्
आमाले दिएको सिस्नाको तिहुन पनि खीरैखीर हुन्छ
आमा सम्झे मातातीर्थ जानू, बाबु सम्झे गोकर्ण जानू
आमा सित मामाको बखान
आमा हुन साह्रो, बाउ हुन सजिलो
आमैका अगाडि बाबैका दुहाई
आमाका पेटबाट र कुमालेका चक्रबाट राता, काला, नीला थरीथरीका निस्कँदै जान्छन्
आमाका पेटबाटै जानेर त कोही पनि आएको हुँदैन
आमा चाहिं बेस्करी कुट्ने, छोरो चाहिं ए आमा ए आमा भन्दै उठ्ने

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु