८२ घन्टापछि जीवितै उद्धार
काठमाडौं, १६ बैशाख । भुकम्पमा परेका अर्घाखाँचीका ऋषि खनालको ८२ घन्टाापछि राजधानीको गोंगबुबाट जीवीतै उद्धार गरिएको छ । फ्रान्सको विशेषज्ञ टोलीको सहयोगमा सशस्त्र प्रहरी बलको सीएसएसआर (कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु टिम) ले मंगलबार राती सवा दस बजे उद्धार गरी उनलाई उपचारका लागि टिचिङ अस्पताल महाराजगञ्ज पुर्याएको हो ।
गोंगबुस्थित मित्रनगरमा रहेको पाँचतले सयपत्री गेस्ट हाउसको भुइतलाबाट २८ वर्षीय ऋषिको उद्धार गरिएको हो । टोलीा रहेका सशस्त्रका सात र सीएसएसआरका पाँच गरी १२ जना मध्यान्ह १ बजेदेखि खटेका थिए ।
टोलीले ऋषिलाई पाँच घन्टाको प्रयासपछि जीवितै फेला पारेको थियो । सेना र कार्यविनायक अस्पतालका चिकित्सकले ऋषिलाई अक्सिजन मास्क लगाएर स्लाइन र शक्तिवद्र्धक सुई दिएका थिए ।
साँझ ६ बजे चिकित्सकसँग गेस्ट हाउसको भुईतलामा पुगेका रोेटरियन दीपजंग शाह ठकुरीले थिचिएका युवक ऋषिलाई उद्धृत गर्दै भने, उनी जसरी पनि बचादिनोस भनिरहेका छन् । खुट्टामा गाह्रो भइरहेको छ । दाहिनेपट्टी कोल्टो परेको काठले भुँडीमा घोचे जसरी थिचेको छ । टाउको र मुटु सुरक्षित छ । देब्रे हात चलाइरहेका छन् । भुइतलामै करिव साढे तीन घन्टा उनको उपचार गरेपछि उद्धार टोलीले एक घन्टा लगाएर उनलाई निकालेको थियो ।
ठकुरीका अनुसार ऋषिसँगै एक मृत युवक घोप्टो परेर वान्ता गरेको र मुखमुनि भुइमा अलिकति रगत देखिएको अवस्थामा भेटिएका छन् ।
गेस्ट हाउसका सञ्चालक छत्रबहादुर बस्नेतले शनिवार १२ बजेको भुइचालोपछि तेस्रो तलाबाट हाम फालेर बँचेको बताए । उनले भने, ‘खाना खान लाग्दा भुकम्प आयो, ८७ वर्षीय बुवा, त्यति नै उमेरकी आमा र सात वर्षीय छोरालाई छोडेर हाम्फाले । एक घन्टापछि सबैलाई निकाल्यौं । मेरो ड्राइभर सुरज थापाको बाहिर निकालेपछि साँझ निधन भयो ।’ अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।