महोत्तरीमा चार डाँका पक्राउ
काठमाडौं, २ असार । दिनदहाडै लाखौँको लुटपाट मचाएका चार डाँकालाई महोत्तरी प्रहरीले बुधबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१४ बस्ने विन्दाकिशोर महतो, वृजलाल मण्डल, रामसकल महतो र रामचन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । पक्राउ परेका डाँकाले जलेश्वर–१६ बस्ने देवेन्द्र सिंहको घरमा मङ्गलबार दिनदहाडै तीन लाख नगद, १२ तोला सुन र २० तोला चाँदीका गरगहना, एकथान साइकल र एउटा खसी लुटेर लगेको थियो । दिनदहाडै लाखौँको लुटपाट गरी फरार रहेका चारै जनालाई गएराति जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले उनीहरुको घरैबाट पक्राउ गर्न सफल भएको श्रेष्ठले बताए । – रासस