बारामा बाँदरको बबण्डर
काठमाडौ, ७ असार । बाराको सिमरा, पथलैया, अजलेखगञ्ज, पिलुवा, महेन्द्रनगर, टाँगियाबस्तीलगायत निजगढ नगरपालिकामा पर्ने लाल रतनपुरी क्षेत्रमा समेत बाँदर आतंक बढेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका स्थानीयबजारका ब्यवसायी बाँदर आतंकबाट पीडित बनेका हुन् । बजारका साना ठूला होटलदेखि जङ्गलसँगै जोडिएका मानव बस्तीमा पसेर अन्नबाली खानुका साथै साना बालबालिकालाई आक्रमण गरी घाइते बनाउन थालेपछि बाँदर नियन्त्रणका लागि स्थानीयले आरक्ष गुहार्न थालेका छन् । साइकल यात्रीसमेतलाई झम्टने, सामान खोस्ने गरेको गुनासो उनीहरुको छ ।
पर्सा बन्यजन्तु आरक्षले भने कसैले पनि यस विषयमा उजुरी नदिएको भन्दै बाँदर, नीलगाईलगायतका बन्यजन्तु नियन्त्रण गर्न परम्परागत शैली बाहेकका अरु उपाय नरहेको जनाएको छ । कसैले बाँदर मारेमा ६ महिना देखि २ बर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरीवाना वा दुबै सजायँ हुन सक्ने कानूनी व्यवस्था भएकाले स्थानीय झनै डराएका छन् ।