जागिर लगाइदिञ्छु ठगी गर्ने पक्राउ
काठमाडौं, २६ असार । महानगरीय अपराध महाशाखाले विभिन्न मन्त्रालयमा जागिर लगाइदिने भन्दै सर्वसाधारणसँग रकम लिएर ठगी गर्दै आएका एकजनालाई पक्राउ गरेको छ । ठगी आरोपमा काठमाडौंको तारकेश्वर नगरपालिका–३ गोलढुंगा बस्ने ४२ वर्षीय रामकुमार चापागाईलाई शुक्रबार पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनले स्वास्थ्य मन्त्रालयको रिसेप्सनिस्ट बनाइदिन्छु भन्दै काठमाडौं महानगरपालिका–१६ बस्ने सृष्टि रन्जीतबाट २५ हजार रुपैयाँ लिएको प्रहरीको दाबी छ । त्यस्तै, हेटौंडा–४, मकवानपुरका सुदिप पाण्डेबाट पनि उनले एक लाख ७१ हजार पाँच सय रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।
यसअघि, उनले काठमाडौं बालुवाटार बस्ने निलिमा महर्जन र आकृति डंगोललाई गृह मन्त्रालयको खरिदार पदमा स्थायी नियुक्ति दिलाइदिन्छु भन्दै चार लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ । रकम लिनुअघि उनले निलिमा र आकृतिलाई विश्वास दिलाउने क्रममा अर्थ मन्त्रालयको क्यान्टिन, लोकसेवा आयोगको भवन र गृहमन्त्रालयसम्म लगेको पीडितहरुलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।
निलिमा र आकृतिले महाशाखामा दिएको उजुरीका आधारमा गत फागुन ९ गते नै महाशाखाको टोलीले उनलाई पक्राउ गरी कारवाही अघि बढाएकोमा धरौटी तिरेर उनी रिहा भएका थिए । रिहा भएपछि उनले पछिल्लो पटक सृष्टि र सुदिपलाई ठगी गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान एवं कारवाही प्रक्रिया अघि बढाउन शुक्रबारै महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ ।