आज साउने संक्रान्ति

२०७२ श्रावण १ गते, शुक्रबार

काठमाडौ, १ साउन । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्व । असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो पर्व मनाउन थालिएको हो । ज्योतिष शास्त्र खनुसार सौर तिथिको हिसाबले आजदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।
विभिन्न फलफूल चढाएर ‘कण्डारक’ नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाको रोगबाट बच्न सकिने जन विश्वास रहिआएको छ । आज कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पति बाली आ आफ्ना घरआँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने चलन छ ।
लुतो फाल्दा घरभित्र दूषित किटाणु प्रवेश नगरून् भन्ने उद्देश्यले नाङ्लो ठटाउने, शंख फुक्ने, घण्टा बजाउने, ढिकी कुट्ने र केहीबेर घरको ढोकासमेत बन्द गर्ने गरिन्छ । आजैबाट हिन्दु महिलाहरुले हरियो चुरा तथा मेहेन्दी लगाएर साउन महिनाको ब्रत बस्ने चलन छ ।
यता किराती समुदाय भने साउने संक्रान्तिलाई सिसेक्पा तङ्नामको नामले मनाईन्छ्र । किराती समुदायले आजको दिन आफ्नो ईष्ट देवको सम्मानमा नयां पाकेका फलफुलहरू डोरिमा उनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ ।

प्रतिक्रियाहरु

[anycomment]