यातायात आयोग गठन गर्न माग
काठमाडौं,९ साउन । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले प्रधानमन्त्री सुशिल कोइरालालाई ज्ञापनपत्र बुझाउँदै यातायात आयोग गठन गर्न माग गरेको छ । बिहान प्रधानमन्त्रीलाई भेटेर संविधानमा यातायात मैत्री व्यवस्था समेट्न ध्यानाकर्षण गराइएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । महासंघले संघीयता भएपछि एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा सवारी कर नलाग्ने व्यवस्था मिलाउन माग गरेको छ । यस्तै बन्द र चक्काजाम गर्न नपाइने प्रावधान कडाईका साथ लागु गर्न पनि महासंघले भनेको छ । १५ बुँदे ज्ञापनपत्रमा राजमार्गमा छुट्टै सुरक्षा टोली छुट्याउन र दुर्घटनाबारे छानबीन गर्न छुट्टै अदालत हुनुपर्ने माग पनि गरिएको छ । यसअघि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पनि ज्ञापनपत्र बुझाइएको र सबै दललाई बुझाउने तयारी भएको सिटौलाले जानकारी दिए ।