लाङटाङ अस्थाइ बासका लागि उपयुक्त
काठमाडौं, १० साउन । भूकम्पपछि पटक पटक गएको हिमपहिरोले असुरक्षित र जोखिम रहेको रसुवाको लाङटाङ क्षेत्र अहिले अस्थायी बासका लागि खुल्ला गरिएको छ । पछिल्लो समय भूगर्भविद तथा दैवी प्रकोप उद्दार समितिले त्यस क्षेत्रको स्थलगत अनुगमन गरेपछि स्यानीयवासीलाई अस्थायी रुपमा बस्न स्थान तोकेको हो ।
भूकम्पबाट विस्थापित लाङटाङवासीले अस्थायी बासका लागि स्थान निर्धारण गरिदिन अनुरोध गरेपछि जिल्ला दैवी प्रकोप उद्दार समिति रसुवाले अस्थायी बासका लागि स्थान तोकेको हो ।
हालका लागि क्यान्जिङ उपत्यका, सिन्धुम, घोडा तबेला तथा रिम्चे सुरक्षित रहेकाले बर्षातसम्म अस्थायी रुपमा बस्न अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
बार्षिक सत्र हजारभन्दा बढी विदेशी पर्यटक पुग्ने लाङटाङमा भूकम्पपछि आएको हिम पहिरोले गाउँनै पुरिएपछि लाङटाङबासी काठमाडौंस्थित पहेंलो गुम्बामा आश्रय लिई बसिरहेका छन् ।