पहिरोमा परी १२ को मृत्यु, दर्जनौ घर क्षतिग्रस्त
पोखरा, १४साउन । कास्कीको भदौरे र लुम्लेमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । बुधबार राती अबिरल बर्षासँगै गएको पहिरोको कारण भदौरेमा पाँच र लुम्लेमा ६ गरी ११ जनाको मृत्यु भएको हो ।
मृतकको सनाखत हुन सकेको छैन । पहिरोमा परी भदौरेमा पाँच जना बेपत्ता रहेका छन् । पहिरोले भदौरे–५ को डुंढे फाँटमा रहेका आठ घर बगाएको छ । पहिरोले त्यस क्षेत्रमा रहेको अन्य ६ घरको आधा भाग भने पुरिएको छ ।
यहाँ १५ घर रहेका छन् । हजार मिटरभन्दा माथिबाट आएको पहिरोले भदौरेमा जाने तीन वटा पुलसमेत बगाएको छ भने पहिरो झरेर बस्ती नजिकै रहेको खहरे र हर्पन खोलासम्म पुगेको छ ।
पहिरो बगेर फेवातालमा पुग्दा आसपासको अतिक्रमित क्षेत्र समेत डुवानमा परेको छ । फेवाताल बढेर अहिले हर्पन खोलाको मुहानसम्म पुगेको छ । पहिरोले नौविसे, उपल्लाखेत लगायतका क्षेत्रमा समेत केही घरमा क्षति पुर्याएको छ ।
उता, खोलामा पानी बढेर भदौरेसम्म आवतजावत बन्द भएपछि गएरातीदेखि घाइते रहेका ११ जनालाई अझै पोखरा ल्याउन नसकिएको बताइएको छ ।
स्थानीयबासिन्दाले घाइतेहरुलाई लैजान हेलिकोप्टरको व्यवस्था गर्न माग गरेका छन् । पैदल मार्ग भएर प्रहरी र सेनाको टोली भने घटनास्थल पुगेर उद्धार गरिरहेको छ ।