पहिरोवाट मृत्यु हुनेको संख्या ३० पुग्यो

२०७२ श्रावण १५ गते, शुक्रबार

काठमाडौ, १५ साउन । कास्कीको लुम्ले, भदौरे र ढिकुरपोखरी गाविसमा बुधबारराति गएको पहिरोमा परी मृत्यू हुनेको संख्या ३० पुगेको छ । प्रहरीले दिएको जानकारी अनुसार पहिरोले लुम्लेमा २३, भदौरे तामागीमा पाँच र ढिकुरपोखरीमा दुई जनाको मृत्यु भएको हो । त्यस्तै पहिरोमा परेर लुम्लेमा ३ जना, भदौरे तामागीमा १४ जना र ढिकुरपोखरीमा १ जना घाइते भएका छन् भने लुम्लेमा १२ र भदौरेमा ३ गरी १५ जना अझै बेपत्ता छन् । बेेपत्ताको शुक्रबार बिहानैबाट खोजी सुरु भएको प्रहरीले जनाएको छ । गएराति थप पाँच जनाको शव भेटिएपछि मृतकको संख्या लुम्लेमा मात्रै २३ पुगेको हो । लुम्ले-६ की २७ बषिर्या पार्वती देवकोटा, उनका १० बषिर्य छोरा सविन देवकोटा, ९ बर्षीया सविता पौडेल र ५५ बर्षकी लक्ष्मी देवकोटाको शव बिहीबार बेलुका भेटिएको हो । एक जनाको भने सनाखत हुन बाँकी छ ।
त्यसैगरी लुम्लेमा घाइते हुनेहरुमा २० वषिर्या रिता देवकोटा, उनको ८ महिना छोरा रितेश देवकोटा र १८ वर्षकी जुना सुनार रहेका छन् । उनीहरुको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
लुम्लेको पहिरोमा इन्द्रप्रसाद देवकोटा र उनकी श्रीमती, गुरुदत्त देवकोटा र उनकी श्रीमती, देउताराम देवकोटा परिवारका चार जना, लक्ष्मण देवकोटाका श्रीमती र छोरा वेपत्ता छन् । आईबहादुर गुरुङको घरमा बसेका छिरिङ राईको पाँच जनाको परिवार पहिरोमा परेकोमा तीन जनाको शव फेला परेको छ । प्रहरीका अनुसार एकै परिवारका पाँच जना पहिरोमा परेका मृतक छिरिङ राईका दुई छोरीहरु अझै वेपत्ता छन् । उनीसहित तीन जनाको भने बिहीवारै शव भेटिएको थियो ।
पहिरोमा पुरिएकाहरुको खोजी कार्य भइरहेको छ । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी खटिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार