कर्णाली बन्दको आब्हान
काठमाडौं,२६ साउन । कर्णाली अञ्चललाई सुदूर पश्चिममा गाभिएको भन्दै आजदेखि कर्णालीका पाँच वटै जिल्ला बन्द आह्वान गरिएको छ ।सोमबार जुम्ला मात्र बन्द गरिएकोमा मंगलबार हुम्ला, मुगु, कालिकोट र डोल्पा पनि बन्दको आह्वान गरिएको हो । आजको बन्दको अगुवाई एकीकृत माओवादीले लिएको छ । सोमबारको बन्दको अगुवाई नेकपा एमालेले लिएको थियो ।
कर्णाली प्रदेशलाई स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै पांचवटै जिल्लाका स्थानीय राजनीतिक दलहरु, नागरिक समाज तथा सर्वसाधारण सडकमा उत्रिएका छन् । जुम्लामा भने प्रदर्शनकारीले सोमबारदेखि विमानस्थल समेत बन्द गराएका छन् । संभावित झडपलाई मध्यनजर गर्दै यि जिल्लाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विशेष कर्णाली राज्य हुनुपर्ने मागसहित शुरु गरिएको आन्दोलनको अगुवाई कांग्रेस, एमाले र एमाओवादीका जिल्ला स्तरीय नेताहरुले नै गरिरहेका छन् । यता, प्रदेश विभाजनका क्रममा रुकुम जिल्ला पनि विभाजन गरिएको भन्दै मंगलबार दोस्रो दिन पनि रुकुम जिल्ला बन्दको आह्वान गरिएको छ । नागरिक समाज रुकुमले शुरु गरेको आन्दोलनमा उद्योग वाणिज्य संघ र जिल्लाका सबै राजनीतिक दलहरुले समर्थन जनाएका छन् ।