आन्दोलन रोक्न चार दलको आग्रह
काठमाडौं, २६ । चार दलले आन्दोलन रोक्न आग्रह गरेका छन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आज संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो अपील गरेका हुन् ।
‘संविधान निर्माणको क्रममा प्रदेशहरुको सीमांकन गर्दा विभिन्न दृष्टिकोण र प्रतिक्रिया उत्पन्न भएका छन्,’ विज्ञप्तिमा चार शीर्ष नेताले भनेका छन्, ‘देशका कतिपय स्थानमा अप्रिय घटनासमेत घट्न पुगेकोमा हामी चिन्तित र गम्भीर भएका छौं ।’
उनीहरुले नेपालको सन्दर्भमा संघीयता नयाँ विषय भएका कारण जे–जसरी सीमांकन गर्दा पनि कहीँ न कहीँ विवाद रहनु र जनताले विविध कोणबाट कुरा उठाउनु र सुझाव दिनु स्वाभाविकै भएको उनीहरुको भनाई छ । ‘तर यी उठेका विवादहरुलाई जनताका भावना र राष्ट्रको आवश्यकता र हितलाई ध्यानमा राखी उचित समाधान पहिल्याउने प्रयत्न गरिने छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
समस्या समाधानका लागि आफूहरु प्रयासरत रहेको जनाउँदै उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘यस घडीमा सम्पूर्ण जनतालाई संयम धारण गर्न र सबै प्रकारका आन्दोलन रोकि उपयुक्त सुझावद्वारा सहयोग पुर्याई समस्याको समाधानको प्रतिक्षा गर्न हामी हार्दिक अपील गर्दछौं ।’
इतिहासमा पहिलो पटक नेपाली जनताका चाहना अनुसार संविधानसभाबाट संविधान निर्माण कार्य अन्तिम चरणमा पुग्न लागेको बेलामा यस ऐतिहासिक कार्यलाई सफल पार्नु राष्ट्रको अपरिहार्य आवश्यकता बनेको पनि चार शीर्ष नेताले जनाएका छन् । ‘तसर्थ राष्ट्रियता, लोकतन्त्र, शान्ति, स्थायित्व र विकासका लागि पनि संविधान निर्माण कार्य सम्पन्न गर्नका लागि सबैमा एकजुट हुन आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।