बेनी–गलेश्वर सडकखण्ड कालोपत्रे गर्न सुरु
काठमाडौं, ७ भदौ । म्याग्दीको सदरमुकाम बेनी–गलेश्वर सडकखण्डमा कालोपत्रे गर्नका लागि प्रारम्भिक काम सुरु गरिएको छ ।
उक्त सडकखण्ड कालोपत्रे गर्नका लागि सडक डिभिजन कार्यालय बागलुङले रु चार करोड ८९ लाख ४४ हजार ८८९ लागतमा योजनाको सम्झौता गरेको जनाएको छ । इन्जिनियर नारायण पौडेलले ३ दशमलव ५ किलोमिटर लामो सडकमा १५ महिनाभित्र कालोपत्रे गर्ने गरी योजना सम्झौता गरेको बताउनुभयो ।
योजनाअनुसार बेनीको कालीपुलदेखि गलेश्वरको राहुघाटमा रहेको मोटरेवल पुलसम्म कालोपत्रे गरिनेछ ।
पहिलो चरणमा सडक फराकिलो बनाउने काम गरिएको र नाली निर्माण, ग्राभेललगायतका पूर्वाधार तयार भएपश्चात् सडकलाई कालोपत्र गरिने कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायी अमृतमान शेरचनले बताउनुभयो ।
गलेश्वरका स्थानीयवासीसमेत रहनुभएका शेरचनले यस सडकखण्डका सरोकारवालासँग बृहत् छलफल गरेर दिगो तवरले पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
म्याग्दीमा सदरमुकामबाहेक अन्य सडकमा कालोपत्रे गर्न लागिएको यो पहिलो योजना हो । सडकखण्ड कालोपत्रे भएमा म्याग्दीसँगै हिमाली जिल्ला मुस्ताङ जाने यात्रुलाई समेत राहत पुग्नेछ भने प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम क्षेत्रको दर्शन गर्न जाने भक्तजन तथा तीर्थयात्रुसमेत लाभान्वित हुनेछन् । – रासस