टिकापुरमा दोहोरो भिडन्त, एसएसपीसहित दुइ दर्जनको मृत्यु
काठमाडौं, ७ भदौ । आज दिउँसो कैलालीको टिकापुरमा थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्त हुँदा प्रहरीका एसएसपीसहित कम्तिमा २४ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्न टिकापुरका विभिन्न नाकाबाट आएका सयौं थरुहट तथा मधेसी दलका कार्यकर्ता र प्रहरीबीच भिडन्तका क्रममा सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्षमण न्यौपानेसहित २१ जना प्रहरी मारिएका छन् । प्रदर्शनकारीतर्फ ३ जना मारिएको बताएपनि पुष्टि भइसकेको छैन ।
टिकापुर नजिकैको मुनुवा गाविस-६ सिलम चौराहमा हजारबढीको संख्याका थरुहट र मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रदर्शनकारीले छुरा, भाला र बन्चरोले प्रहरीमाथि आक्रमण गरेका थिए ।
ज्यान गुमाउनेमा ११ जना सशस्त्र प्रहरी र १० जना जनपथ प्रहरी रहेका छन् । ज्यान गुमाउनेमा इन्सपेक्टरहरु बलराम विष्ट र केशव बोहरा रहेका छन् । घटनामा हवलदारहरु रामबिहारी चौधरी र ललित साउद तथा जवानहरु लोकन्द्र चन्द र लक्षमण खड्काले पनि ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी विश्वराज खड्काले बताए अनुसार भिडन्तमा ठूलो संख्यामा प्रहरीको हताहती भएको हो । प्रदर्शनकारीतर्फ तीनजना मारिएको बताए पनि एकिन भइसकेको छैन ।
थरुहट तथा मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि भाला र अन्य घरेलु हतियारले आक्रमण गरेका थिए । समाचार अनुसार प्रदर्शनकारीले केही प्रहरीलाई जिउँदै जलाएर हत्या गरेका छन् ।
स्थानीय प्रशासनले यो घटनाबारे विस्तृत विवरण दिएको छैन । टिकापुर बजार क्षेत्र र आसपासमा अहिले पनि थरुहटका कार्यकर्ता र प्रहरीबीच भिडन्त भइरहेको छ ।
प्रहरीले निषेधाज्ञा तोड्न आएका थरुहटका कार्यकर्ताले हतियारसहित आक्रमण गर्दा आफ्ना अधिकृतसहितका सुरक्षाकर्मी मारिएको जनाएको छ ।
घटनामा कम्तिमा पनि ५० जना प्रहरी घाइते भएका छन् । उनीहरुको टिकापुर अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले जनाएअनुसार करिब ८ हजारको संख्यामा रहेका थरुहट र मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि धावा बोलेका थिए । चारैतर्फबाट टिकापुरमा पसेका प्रदर्शनकारीले एकै पटक घेरेर आधुनिक हतियारको समेत प्रयोग गरी प्रहरीमाथि धावा बोलेको प्रहरी अधिकृतहरुको भनाइ छ ।
स्थानीय प्रशासनले चार दिनदेखि लगाउँदै आएको निषेधाज्ञा तोड्दै थरुहट र मधेसी दलका कार्यकर्ताले टिकापुरका सरकारी कार्यालय कब्जा गर्न खोजेका थिए ।
सरकारी कार्यालय कब्जा गर्न आएका उनीहरुलार्इ रोक्न खोज्ने प्रहरीले ज्यान गुमाएका हुन् । स्थानीय प्रशासनले बुधबार पनि बिहान ११ देखि साँज ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो।