तराईको जनजीवन अस्तव्यस्त

२०७२ भाद्र ९ गते, बुधबार

काठमाडौं, ९ भदौ । प्रदेशहरुको सिमांकनको विषयलाई लिएर बिभिन्न जिल्लामा भएको विरोधका कारण जनजीवन अस्तव्यस्त हुन् पुगेको छ । संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिको आन्दोलनका कारण दुई सातादेखि चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया लगायतका जिल्ला ठप्प छन् । यी जिल्लामा यातायात, बजार, कलकारखाना र शैक्षिकसंस्थासमेत ठप्प रहेका छन् । राजमार्गमा भने स्कर्टिङ गरी लामो दूरीका सवारी सञ्चालन भइरहेको छ ।
नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बर्दियामा आज पनि निषेधाज्ञा जारी छ । बाँकेको कोहलपुर क्षेत्रमा आज बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्मको लागि फेरी कर्फ्यु आदेश जारी गरिएको छ ।
सोही क्षेत्रमा हिजो दिउँसो २ बजेबाट लगाइएको कफ्र्यु आज बिहान ६ बजेबाट हटाइएको थियो । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा तीन दिन यता केही समयलाई खोल्दै कर्फ्यु लगाईंदै आएको छ ।
लगातारको बन्दले जनजीवन चौपट भएपछि स्थानीयले बन्दको बिरोधमा यि जिल्लामा दिनहुँ जसो सद्भाव र्‍यालीसमेत निकालिरहेका छन् ।
उता, अखण्ड जिल्लाको माग गर्दै अखण्ड नवलपरासी संघर्ष समितिले गरेको जिल्ला बन्द पनि जारी छ । यहाँको प्रदर्शन भने शान्तिपूर्ण छ ।
बर्दिया र दाङका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । बर्दिया सदरमुकाम गुलरियामा ११ बजेदेखि ५ बजेसम्म र बर्दियाको राजापुर बजार क्षेत्रमा बिहान ९ बजेदेखि ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
गुलरियार र राजापुर क्षेत्रमा सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुँवरले जानकारी दिए । यस्तै तीन दिन यता दाङका केही क्षेत्रमा जारी गरिएको निषेधाज्ञा आज पनि यथावत छ ।
उता, संयुक्त लोकतान्त्रित मधेशी मोर्चाले आह्वान गरेको तराई मधेश बन्द पनि जारी छ । बन्दले तराईका आठ जिल्लाको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।
बन्दका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बनेको हो । उता, रौतहट सदरमुकाम गौर लगायतका क्षेत्रमा आज बिहानैदेखि तनावग्रस्त बनेका छन् ।
स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरी बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरे पनि गाउँ गाउँबाट प्रदर्शनकारी सदरमुकाम भेला भइरहेका छन् ।
कुनै पनि बेला दोहोरो झडप हुने भन्दै स्थानीयहरु घर बाहिर निस्कन सकेका छैनन् । सुरक्षाकर्मीले चलाएको गोली लागेर मंगलबार मृत्यु भएका राजकिशोर ठाकुरलाई शहीद घोषणा र क्षतिपूर्तीको माग गर्दै प्रदर्शन सुरु भएको हो ।
मंगलबार वीपी चोकमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा प्रहरीको गोली लागी ठाकुरको मृत्यु भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार