मधेसी मोर्चाद्धारा अलग्गै मधेस आन्दोलनको घोषणा
काठमाडौ, १० भदौ ।मधेसी राष्ट्रिय मुक्ती मोर्चा ( क्रान्तिकारी)ले अलग्गै मधेस आन्दोलनको घोषणा गरेको छ । एकीकृत नेकपा माओवादी सम्बद्ध मोर्चाले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकरा सम्मेलन गरेर आफ्ना १० बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रमहरुमा भदौ ११ र १२ गते मधेसका जिल्लाहरुमा बैठक तथा पत्रकार सम्मेलन गर्ने, भदौ १३ र १४ गते भेला, कोणसभा र सभाहरु गर्ने र भदौ १७ गते मधेसका सबै ग्रामिण ईलाकामा मसाल जुलुस तथा सदरमुकाममा बृहद जनप्रर्दशन गर्ने रहेको छ ।
मोर्चाले आन्दोलनमा मृत्यू भएकोलाई शहिद घोषण, घाईतेको उपचार, सेना परिचालन फिर्ता गर्नु पर्ने, पहिचानको आधारमा मधेसमा दुई प्रदेश र जनसख्याको आधारमा समानुपतिक समावेशी, मधेसी, दलित , थारु, मुस्लिम र महिलाका लागि केन्द्र र प्रदेशमा अलग अलग आयोग गठन, नागरिकताको समस्या समाधान गर्नु पर्ने , त्रिभाषिक नीति लागु गर्नु पर्ने, न्यायपालिकाको संघीय संरचनाको निर्माण, राजस्वमा केन्द्रको एकाधिकार अन्त्य, दलित र महिलालाई प्रत्यक्ष निर्वाचनमा आरक्षण र जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्नु पर्ने मागसहित आन्दोलनको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै एमाओवादी पोलिटब्यूरो सदस्य एवम मधेस ईन्चार्ज रामचन्द्र झाले आफूहरुको आन्दोलन संविधान निर्माणलाई विथोल्न भन्दा छिटै सबैको समस्या समाधान गर्ने गरी संविधान आउनु पर्छ भन्ने पक्षमा रहेको स्पष्ट पार्दै आन्दोलनका क्रममा आफूहरुले पार्टीले राखेका असहमतिहरुलाई जनतामाझ पुर्याउने बताए ।
उनले थारुहट आन्दोलन राजनीतिक विषय भएकोले त्यसको राजनीतिक समाधान खोज्नु पर्ने भन्दै थारु समूदायमाथिको विभेद र दमनको आक्रोस कैलाली घटनामा देखिएको बताए ।
झाले सरकारले बार्ताको लागि गरेको आब्हान सकारात्मक भएको भन्दै बार्तामा आएर समस्याको समाधान खोज्न आन्दोलनरत पक्षहरुलाई आब्हान गरे ।
मोर्चाका अध्यक्ष रामकुमार साहले ६ र ७ प्रदेशको सीमांकन आधारहिन , अन्तरिम संविधान र १६ बुँदे सहमतिको विरुद्ध आएकोले असन्तुष्टी बढेको भन्दै सेना परिचालन गरेर आन्दोलन दमन नहुने बताए ।
पोलिटब्यूरो सदस्य प्रभु साहले राज्यले दमन गरेर समाधान खोजेकोले स्थिति असहज बनाएको भन्दै तत्काल सेना परिचालन फिर्ता गरेर बार्ताबाट समाधान खोज्न आग्रह गरे ।
पोलिटब्यूरो सदस्य महेन्द्र पासवानले माग संबोधन गर्न कन्जुस्याई गर्दा पहिलो संविधानसभा जस्तै दोस्रो संविधानसभा असफलताको बाटोमा जान थालेको भन्दै जनताका जायजमागलाई संबोधन गरेर छिटो संविधान बनाउनु पर्ने बताए ।
मुस्लिम मोर्चाका अध्यक्ष हकिबुल्ला खाँले संविधानमा सबैको चित्त बुझाउन नसकिए पनि मुख्य मुद्दालाई संबोधन गर्नुं पर्ने भन्दै राजनीतिक समस्या भएकोले राजनीतिक रुपमै समाधान खोज्न सुझाव दिए ।
एमाओवादी केन्द्रीय सदस्य घनश्याम यादवले पहिचान र सार्मथ्यको आधारमा सीमांकन भएमात्र जनताले मान्ने बताए ।