बन्दले तराईको जनजीवन अस्तव्यस्त

२०७२ भाद्र २० गते, आईतवार

काठमाडौं, २० भदौ । स्थानीय प्रशासनले पर्साको सदरमुकाम वीरगन्ज आसपासमा लगाउँदै आएको कर्फ्यु आज केही खुकुलो पारेपनि अझै पूर्ण रुपमा हटाएको छैन । उक्त क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई हेरि भदौ १४ गतेबाट यस क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो । हिजो शनिबार बिहान ९ बजेदेखि २ बजेसम्मको लागि कर्फ्यु हटाएपनि फेरी २ बजेदेखि कर्फ्यु लगाइएको हो । लगातारको कर्फ्युले स्थानीयको दैनिकी निक्कै कष्टकर बन्दै गएको छ । यसैबीच, गत सोमबार प्रहरीले चलाएको गोली लागि मृत्यु भएका पाँचै जनाको शनिबार सामूहिक अन्त्येष्टि गरिएको छ ।
उता, संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द आइतबार २३ औं दिनमा पुगेको छ । बन्दका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बनेको छ ।
आन्दोलनका क्रममा दिनहुँ हुने प्रदर्शन र बन्दले गर्दा यि जिल्लामा यातायातको साथै कलकारखाना, बजार, शैक्षिक संस्थाहरु ठप्प छन् ।
चितवनदेखि कञ्चनपुरसम्म थरुहट संघर्ष समितिले गरेको बन्द २७ दिनमा पुगेको छ । पश्चिमी केही जिल्लामा संयुक्त मधेशी मोर्चाको बन्द पनि यथावत छ ।
दोहोरो बन्दको मार खेपिरहेका पश्चिमी जिल्लामा सबैभन्दा बढी मारमा यातायात व्यवसायी परेका छन् ।
लामो समयको बन्दले आजित बनेपछि बजार भने स्थानियले फाट्टफुट्ट खोल्न थालेका छन् । यि जिल्लाका अधिकांश स्थानमा अझै निषेधाज्ञा जारी नै रहेको छ । 

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार