आज बाबुुको मुख हेर्ने दिन
काठमाडौँ, २७ भदौ । आज भाद्रकृष्ण औँसी, यो दिन घरघरमा कुश भित्र्याउनुका साथै आफ्ना बुबाको मुख हेर्ने प्रचलन छ । ‘कुश’ देवकार्य तथा पितृकार्य दुवैमा प्रयोग गरिने पवित्र वनस्पति हो । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रुपमा पूजा गरिन्छ । शास्त्रीय मान्यताअनुसार पुरोहित वा ब्राह्मणले मन्त्रोच्चारण गरी वैदिक विधिका साथ काटिएको कुश आफ्ना यजमानका घरघरमा पु¥याउने र कुश लैजाने पुरोहित वा ब्राह्मणलाई यजमानले सिदा र दक्षिणा दान गर्ने प्रचलन छ ।
कुशलाई बेरेर बनाइने विशेष प्रकारको औँठी जसलाई ‘पवित्र’ भनिने र त्यसलाई धारण नगरी गरिने कुनैपनि धार्मिक कार्यबाट फल प्राप्त नहुने विश्वास रहिआएको छ ।
कुशे औँसीका दिन बाबुलाई छोराछोरीले श्रद्धापूर्वक रूचिअनुसारको खानेकुरा खुवाई आशीर्वाद लिने गरिन्छ । बुबाबाट आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वासका आधारमा विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीले समेत समय निकालेर घरमा पुगी बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिने गर्दछन् । बाबु नहुनेले भने काठमाडौँ उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्र लगायतका पवित्र तिर्थस्थल पुगेर स्नान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई दान दिने गर्दछन् ।