दमौली बजार तनावग्रस्त
काठमाडौ, २७ भदौ । पूर्णबहादुर आलेको मृत्युको घटनालाई लिएर प्रदर्शनकारी र प्रहरीबीचको दिनहुँ हुँदै आएको झडपका कारण छैटौँ दिन पनि दमौली बजार तनावग्रस्त रहेको छ । सोही झडपका कारण आइतबार पनि बिहानैदेखि दमौली बजार बन्द रहेको छ ।
प्रदर्शनकारीहरुले बिहानैदेखि दमौलीको मुख्य चोकमा टायर बालेर पृथ्वी राजमार्गमा चक्काजाम गरेका छन् । पृथ्वी राजमार्ग दैनिकजस्तो अवरुद्ध हुँदा यात्रुहरु घन्टौँ सडकमा अलपत्र रुपमा बस्न बाध्य भएका छन् ।
आइतबार बाबुको मुख हेर्न र तीजका लागि हिँडेका चेलीबेटीहरु बाटोमै अलपत्र परेको बताइएको छ । आन्दोलनकारीले दुई दर्जनभन्दा बढी सवारी साधनमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आन्दोलनकारीहरुले नेसनल एपोलो हस्पिटलको ग१च ६५०० नंको एम्बुलेन्स र रोकी राखिएको होन्डा कारमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । आन्दोलनकारीले दमौली अस्पतालका डा रामहरि दाहालले सञ्चालन गरेको दाहाल हेल्थ केयर सेन्टरमा तोडफोड गरेका छन् ।
आन्दोलनकारीले हानेको ढुङ्गा लागेर प्रहरी निरीक्षक भोजराज पाण्डेसहित चारजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले माछापुच्छ«्रे होटलकी सञ्चालक लालुमाया गुरुङलाई होटलमै पुगेर लछारपछार गर्दै टाउको र शरीरमा निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रदर्शनकारीले हानेको ढुङ्गाले लागेर सिसिटिभी क्यामेरा, सडक बत्ती, टेलिफोन बुथ, सेतीमादी दैनिक पत्रिकाको कार्यालय, दुई निजी अस्पताल, दर्जनाँै घरमा तोडफोड हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
अञ्चल प्रहरी कार्यालय पोखराका एसएसपी बलराम शर्मा पौडेलले शान्ति सुरक्षा कायम गर्न पोखराबाट समेत थप प्रहरी बल मगाई लागिपरेको बताउनुभएको छ । सम्बन्धित पक्षसँग वार्ता भइसकेकाले अनावश्यक प्रदर्शनबाट भ्रम नछर्न र त्यस्ता गतिविधिमा साथ नदिन उहाँले सबैमा आग्रहसमेत गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सम्बन्धित पक्षसँग सहमति गरी आन्दोलनरत पक्षहरुले राखेका माग बारे गृह मन्त्रालयमा सिफारिस गरी पठाइसकिएकाले आन्दोलन रोक्न उक्त पक्षसँग आग्रह गरेका छन् । – रासस