ग्यासमा कालोबजारी गर्ने प्रहरीको फन्दामा
काठमाडौ १५ असोज । खाना पकाउने ग्यासको अभाव देखिएको मौकाको फाइदा उठाउदै कालोबजारी गरेको आरोपमा चितवनमा दुईजना ग्यास विक्रेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर– ६ का ५१ वर्षीय कृष्णप्रसाद सापकोटा र भरतपुर– १० स्थित डिपी सप्लायर्सका सञ्चालक ध्रुव पौडेल रहेको प्रहरीले जनाएको छ ।
चितवन ग्यास प्रालिका सञ्चालक कृष्णप्रसाद सापकोटाले आफ्नो घरमा ग्यास लुकाएर राखी कालो बजारी गरी बजार मूल्यभन्दा महँगो मूल्यमा बिक्री गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनले प्रतिसिलिन्डर रु पाँच हजारका दरले बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा छापा मार्दा ग्यास वितरण गर्दै गरेको अवस्थामा फेला पारिएको चितवन प्रहरीले जनाएको छ ।
यसैगरी ध्रुव पौडेलले पनि कालोबजारीमा ग्यास बिक्री गरिरहेको अवस्थामा फेला पारी पाँच सिलिन्डर ग्यास समेत बरामद गरेको छ । उनीहरुलाई कालोबजारीअन्तर्गत म्याद थप गरेर कारबाही थालिएको प्रहरीले जनाएको छ ।