आज विश्व बसोबास दिवस
काठमाडौ, १८ असोज । सबैका लागि सार्वजनिक स्थल भन्ने मुल नाराका साथ आज विश्व बसोबास दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रमले प्रत्येक वर्षको अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउने निर्णय गरेदेखि नै यो दिवस मनाउन शुरु गरिएको हो । दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै शहरी विकास मन्त्री नारायण खड्काले शहरी योजनाहरु परिकल्पना गर्दा मानवोचित ढंगले सुविधा हुने गरी आवास क्षेत्रहरुको विकास गर्न, सार्वजनिक स्थलहरुमा सबैको पहँुच अभिवृद्धि गर्न र त्यसको सदुपयोगमा ध्यान दिन आग्रह गरेका छन ।
शहरी विकास मन्त्रालय सार्वजनिक स्थलहरुको सही ढंगबाट व्यवस्थापन तथा प्रयोग गराउन सधै लागि रहेको भन्दै सम्पुर्ण सरोकारवाला निकाय, स्थानीय निकाय, सार्वजनिक क्षेत्र, निजि क्षेत्र र सबै संघसंस्थाको भुमिका उत्तिकै महत्वपुर्ण हुने बताए ।