इन्धनको अभाव चुलिँदै

२०७२ आश्विन २० गते, बुधबार

काठमाडौं, २० असोज । भारतले अघोषित नाकाबन्दी गरेसँगै नेपालमा इन्धनको अभाव चुलिँदै गएको छ । तराई मधेसमा लामो समयदेखि भैरहेको आन्दोलन र पछिल्लो पटक भारतीय पक्षबाट गरिएको अघोषित नाकाबन्दीले नेपालमा इन्धन अभाव थप जटिल बन्दै गएको होे । अहिले नेपाल आयल निगमले मौज्दातमा रहेको पेट्रोलियम पदार्थ सार्वजनिक सवारी साधन तथा पर्यटक सेवामा सञ्चालित सवारी साधनलाई जोर बिजोर नम्बर अनुसार जोर बिजोर गते मात्र वितरण गरिरहेको छ । अति आवश्यक सेवामा प्रयोग हुने जेनेरेटरलाई जर्किन वा ड्रममा सीमित मात्रामा वितरण भैरहेको छ । तर निजी सवारी साधन तथा ट्रिपर, ट्रक, मिनिट्रक र निर्माण सेवाका साधनलाई इन्धन नदिइएको नेपाल आयल निगमले जनाएको छ ।
निगमले भारतले इन्धन नदिँदा दैनिक झण्डै ३ करोड रुपैयाँ घाटा भइरहेको बताएको छ । इन्धनको सहज आपूर्तिका लागि हरेक दिनजसो भारतीय आयल निगमलाई पत्र पठाउँदै आएको भएपनि अहिलेसम्म भारतीय पक्षबाट कुनै जवाफ नआएको नेपाल आयल निगमले जनाएको छ ।
नेपालले अहिलेसम्मको क्षतिपूर्ति तिर्नुपर्ने चेतावनी सहितको पत्र आइतबार आइओसीलाई पठाएको थियो । दैनिक झण्डै ३ सय ५० ट्यांकर इन्धन नेपाल आउनुपर्नेम अघोषित नाकाबन्दीपछि औषतमा ३५ वटा मात्र इन्धन बोकेका गाडी नेपाल आएका छन् ।
यसैबीच इन्धनको कालो बजारी गरेको आरोपमा चितवनमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । माडी नगरपालिका–५ का खुमप्रसाद भट्टराईलाई इन्धनको कालो बजारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
भट्टराइलाई एक सय ६० लिटर पेट्रोल र एक सय ४० लिटर डिजेलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजन अधिकारीले बताए ।
बजारमा पेट्रोलियम पदार्थको अभाव भएका बेला भट्टराईले आफूसँग भएको पेट्रोल प्रति लिटर दुई सय ५० र डिजेल प्रति लिटर दुई सय रुपैयाँका दरले बिक्री गर्ने गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार