भोलिदेखि दसैंका गाडी चल्ने

२०७२ आश्विन २४ गते, आईतवार

काठमाडौं, २४ असोज । सरकार, यातायात व्यवसायी तथा नेपाल आयल निगमले दसैं मान्‍न घर जाने यात्रुलाइ लक्षित गर्दै सोमबारदेखि लामो दूरीको बस सञ्चालन गर्ने निर्णय गरेका छन । सोमबारदेखि आठ दिनका लागि दसैंलाई लक्षित गरेर विशेष सतर्कता तथा सुरक्षाका साथ सवारीसाधन सञ्चालनमा ल्याइनेछ । नाकाबन्दी, असुरक्षा, बन्दहडताल तथा इन्धन अभावमा यसपटक अग्रीम टिकट काट्ने व्यवस्था कार्यान्वयनमा आउन सकेन। अग्रीम टिकट काट्ने सुविधा कार्यान्वयनमा आउन नसक्दा यसपटक यात्रुको चाप निक्कै बढ्नेछ।यात्रुले यात्राको एक दिनअघि नयाँ बसपार्क, सुन्धारा, कलंकी, गौशाला, कोटेश्वर, चाबहिल, बल्खुलगायतका स्थानका टिकट काउन्टरबाट टिकट काट्नुपर्नेछ।
दसैंमा निर्बाध रूपमा लामो दूरीमा सवारीसाधन सञ्चालन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग आठ दिनका लागि ७४ लाख ९६ हजार लिटर डिजेल र पेट्रोल माग गरेको छ। महासंघका महासचिव सरोज सिटौलाले आठ दिनमा उपत्यकाबाट १५ लाख यात्रुलाई दसैं मान्न घर पठाउने योजना तयार पारिएको जानकारी दिए। लामो दूरीमा दैनिक ६ हजार दुई सय ५० वटा ठूलो बस सञ्चालनमा ल्याइनेछ । यस्ता बसका लागि दैनिक नौ लाख ३७ हजार लिटर इन्धन उपलब्ध गराइदिन महासंघले एनओसीलाई पत्राचार गरेको छ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले यात्रुलाई गन्तव्य स्थलसम्म पुर्‍याउन एनओसीलाई अन्य क्षेत्रमा वितरण हुँदै आएको इन्धन कटौती गरेर सञ्चित गर्न निर्देशन दिएको जानकारी दिए। ‘सञ्चित इन्धनको सहयोगमा दसैं मान्न जाने यात्रुका लागि सोमबारदेखि सवारीसाधन सञ्चालनमा ल्याउने सरकारको तयारी छ’, त्रिपाठीले भने, ‘भरपर्दो सुरक्षा दिएर लामो दूरीका सवारीसाधन सञ्चालनमा ल्याउँदैछौं।’ उनका अनुसार आइतबारदेखि नै लामो दूरीका सवारीसाधनलाई बढी परिमाणमा इन्धन वितरण गर्ने योजना पनि कार्यान्वयनमा ल्याइनेछ । लामो दूरीका सवारीसाधनलाई चक्रपथ वरिपरिका पेट्रोलपम्पबाट इन्धन उपलब्ध गराउने योजना छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार