आज विजयादशमी, टीका साइत बिहान १०:५५ मिनेटमा

२०७२ कार्तिक ५ गते, बिहीबार

काठमाडौं, ५ कात्तिक । आज महानवमी र विजयादशमी एकै दिन परेको छ । आज महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको छ । आज देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर ५५ मिनेटको साइत उत्तम भएको बताइएको छ ।
विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्राका लागि आज बिहान ११ बजेर १ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम छ । खड्ग यात्राको साइत कात्तिक ५ गते विजयादशमीकै दिन ११ बजेर ५५ मिनेटमा राम्रो रहेको छ ।
दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई कात्तिक ९ गते सोमबार समाप्त गर्नुपर्नेछ । त्यस दिन बेलुकी ८ बजेर १३ मिनेटदेखि पूर्णिमा तिथि लाग्ने र मध्यरातमा पनि पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा ९ गते नै मनाउनुपर्ने शास्त्रीय विधि रहेको समितिको ठहर छ ।
पूर्णिमा व्रत भने कात्तिक १० गते मंगलबार परेको छ । आकाशदीप दान र कात्तिक स्नान आरम्भ पनि कात्तिक १० गते मङ्गलबार नै सुरु गर्नुपर्नेछ ।
यस वर्ष नवरात्र आठ रात नौ दिन परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तो योग परेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार