उपराष्ट्रपति पुनको सपथ ग्रहण दिउँसो २ बजे
काठमाडौं, १५ कात्तिक । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् । पुनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण लिने कार्यक्रम रहेको छ । सपथग्रहण कार्यक्रम दिउँसो २ बजेलाई तय गरिएको राष्ट्रपतिका सहयोगी सुभाष देवकोटाले जानकारी दिए । शनिबार भएको उपराष्ट्रपति निवार्चनमा पुनले पुनले तीन सय २५ मत ल्याएका थिए । पुनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार अमियकुमार यादवले दुई सय १२ मत प्राप्त गरे । उक्त मतका आधारमा पुन उपराष्ट्रपतिमा निर्वाचित भएको व्व्यवस्थापिका संसद बैठकमा सभामुख ओनसरी घर्तीले घोषणा गरेकी थिइन् । व्यवस्थापिका-संसद्मा हाल पाँच सय ९७ जना सांसद रहेका छन् । तीमध्ये निर्वाचनमा पाँच सय ४७ सहभागी भएका थिए । तराई मधेसमा आन्दोलनमा रहेका मधेसवादी दलले भने निर्वाचनमा भाग लिएका थिएनन् । निर्वाचनमा १० मत बदर भएको थियो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको २१ दिनपछि ओलीले आज फेरि मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन । विस्तारित मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओलीले एमालेका तर्फबाट उपप्रधानसहित ठूलो संख्यामा मन्त्रीहरु सहभागी गराउने तयारी गरेका छन् । गत असोज २४ गते प्रधानमन्त्री भएका ओलीले आफ्नै दल एमालेका तर्फबाट आफ्नो भागमा परेका मन्त्रालयको जिम्मेवारी दिन सकेका छैनन ।
एमालेको भागमा परेका १० वटा मन्त्रालयमा आज प्रधानमन्त्रीले मन्त्री नियुक्त गरी जिम्मेवारी दिने तयारी गरेका छन् । ओलीले प्रधानमन्त्रीमा सपथ लिँदा असोज २५ गते एमालेका तर्फबाट कानुन तथा न्यायमन्त्रीमा अग्नीप्रसाद खरेल, उद्योग मन्त्री सोमप्रसाद पाण्डे र विनाविभागीय मन्त्रीमा सत्यनारायण मण्डललाई नियुक्त गरेका थिए । एमालेको भागमा रक्षा, अर्थ, सूचना तथा प्रविधि, संघीय मामिला एवम् स्थानीय विकास, स्वास्थ्य, सहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनलगायत परेका छन् ।