छठ पर्वको रौनक सुरु
काठमाडौ, २९ कात्तिक । छठ पर्व भब्यताकासाथ मनाउनका लागि वीरगन्जका स्थानीय युवा जलाशयको सरसफाइ तथा सजावटमा व्यस्त भएका छन् ।
उनीहरूले वीरगन्जको ऐतिहासिक घडीअर्वा पोखरी, सिर्सिया नदी, नगवा, छपकैया र पिप्रालगायतका पोखरी एवम् जलाशयको सरसफाइ तथा सजावटमा लागिपरेका छन् । ती पोखरी, नदी तथा तलाउलाई उनीहरूले दुलही झैँ शृङ्गारिन लागिपरेका छन् ।
छठ पर्वलाई हर्षोल्लासका साथ मनाउन स्थानीय घडीअर्वा पोखरी परिसरमा अहिले पन्डाल निर्माणको कार्य द्रुतगतिमा भइरहेको छ । पन्डाल निर्माणका लागिमात्र लाखौँ रुपैयाँ खर्च गरिएको छ । व्रतालुको स्वागतका लागि घडीअर्वा पोखरी नजिकै ठूलाठूला स्वागतद्वार र सूचना घरकोे निर्माण गरिएको घडीअर्वा छठ पूजा व्यवस्थापन समितिले जनाएको छ ।
यसैगरी, मिथिलाञ्चलको महत्वपूर्ण छठ पर्व आज(आइतबार)बाट सुरु भएको छ । चार दिनसम्म मनाइने पर्वका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा, रौतहटसहित तराईका जिल्लाका नदी पोखरीलाई सजाइएका छन् । छठको पहिलो दिन आज अरबा अरबाइन मनाइन्छ ।
ब्रतका क्रममा माछा, मासु, लसुन, प्याज, कोदो, मुसुरो जस्ता खानेकुरा त्याग्ने गरिन्छ । छठको दोस्रो दिनलाई खरना भनिन्छ ।
गाईको गोबरले लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार व्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन् ।
छठको तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चोथौं तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्ठी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।
महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।
छठको अवसरमा जनकपुरका गंगा सागर, धनुष सागरसहितका दर्जनौ पोखरी र वीरगञ्जको घडीअर्वा पोखरीमा पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ । काठमाडौंमा कमलपोखरी, वाग्मती किनारलगायतका स्थानमा छठ मनाइन्छ ।
यसैबीच, तराईमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्वको चहलपहल सुरु भएको छ । यस पर्वको अवसरमा माटाको कलात्मक मूर्ति बनाएर पूजापाठ गर्ने गरिन्छ । कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मूर्ति बनाउनका लागि माटो ल्याउने र पन्ध्र दिनका अवधिमा मूर्ति तयार गरेर कात्तिक पूर्णिमाको मध्यरातमा यो पर्व सम्पन्न गरिन्छ ।
माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाइन्छ । यो पर्व मैथिली र थारु समुदायका महिलाले मनाउने गर्छन् । ग्रामीण क्षेत्रमा अझै पनि पर्वको लोकप्रियता कायम छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यस पर्वप्रतिको आकर्षणमा कमी आएको महसुस गर्न थालिएको छ । काँचो माटाबाट बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ भनिन्छ भने त्यसलाई आगोमा पकाएमा ‘चकेबा’ भनिन्छ । यो पर्वमा दिदीबहिनीले पर्वको अवधिभर बेलुकीका समयमा दाजुभाइको प्रशंसाका साथै आशिष दिने खालका सामा गीत गाउने गर्छन् । गीतका माध्यमबाट दिदीबहिनीले आआफ्ना दाजुभाइलाई ठूला व्यक्ति बन्ने आशिष एवम् शुभकामना दिने चलन छ ।