उखु किसान आन्दोलनमा
काठमाडौं ,१४ मंसिर । नवलपरासीका उखु किसान चिनी उद्योगलाई उखु दिन बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । पुरानो भुक्तानी नपाएर थलिएका उखु किसान यस पटक अघिल्लो वर्षको बाँकी भुक्तानी रकम उद्योगबाट नपाएको भन्दै उखु आपूर्ति बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।
चिनी मिलले भुक्तानी देला र केही गरौँला भनेर बसेका उखु किसान यस पटकको तराई बन्दले झन थप चिन्तित बनेका छन् । नवलपरासीमा रहेका चारवटा ठूला चिनी मिलले गत वर्षहरुका किसानको उखुको पैसा दिएका छैनन् ।
मिलहरुले किसानलाई करोडौँभन्दा बढी रकम दिन बाँकी छ तर पनि मिलको ज्यादति सहेर बस्न किसान बाध्य छन् ।
गत वर्षको मौसममा नवलपरासीमा २२ लाख क्विन्टल उखु उत्पादन भएको थियो ।
नवलपरासीमा रहेका इन्दिरा, लुम्बिनी र वाग्मती चिनी मिलबाट गत वर्ष किसानले पाउनुपर्ने कुल रु एक अर्बमध्ये रु ३० करोड मात्र भुक्तानी पाएको र रु ७० करोड लिन बाँकी रहेको उखु उत्पादक सङ्घको तथ्याङ्क छ ।
गत वर्षको तुलनामा भुक्तानीको झन्झटले यस वर्ष उखुको उत्पादन घटेर करिब १५ लाख क्विन्टलमा आउने उखु किसानका अगुवा प्रेमचन्द्र गुप्ताले जानकारी दिए ।\ नवलपरासीमा करिब १० हजार बिगाहा क्षेत्रफलमा उखुको खेती गरिन्छ खास गरी नवलपरासीको निर्वाचन क्षेत्र नं ६ का अधिकांश गाविस उखुखेतीका लागि उर्वर मानिन्छ । – रासस