मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौ, १५ मंसिर । गएराति नेपालगञ्ज–रुपैडिहा सीमा नाकाको दशगजा क्षेत्रमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचझडप भएको छ । मोर्चाका कार्यकर्ताले दशगजाबाट प्रहरीलाई लक्षित गरी पेट्रोल बम र ढुंगामुढा प्रहार गरेपछि झडप भएको हो । पेट्रोल बम लागेर एकजना प्रहरी जवान घाइते भएका छन् ।
आन्दोलनकारीतर्फ पनि केही घाइते भएका छन् । राति ८ बजेदेखि शुरु भएको झडप १० बजेसम्म चलेको थियो । प्रहरीले दशगजामा गाडिएको आन्दोलनकारीको टेन्ट कब्जामा लिने प्रयास गरेपछि झडप भएको हो ।
मोर्चाका कार्यकर्ताले ६ वटा पेट्रोल बम प्रहरीमाथि प्रहार गरेका थिए । आन्दोलनकारीको प्रदर्शन र ढुंगामुढा नरोकिएपछि भारतीय सुरक्षा बल एसएसबीले माइकिङ गरेर दशगजामा प्रदर्शन नगर्न र आफ्नो भूमीबाट हट्न भनेपछि प्रदर्शनकारी त्यहाँबाट भागेका थिए । मोर्चाका कार्यकर्ताहरु आइतबारदेखि दशगजामै टेन्ट गाडेर बस्दै आएका थिए ।