आज अन्तर्राष्ट्रिय अपांगता दिवस
काठमाडौ, १७ मंसिर । आज २४औं अन्तर्राष्ट्रिय अपांगता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘अर्थपूर्ण समावेशीकरण, सबै क्षमताको व्यक्तिका लागि पहुँच र सशक्तीकरण’ भन्ने मूल नाराका साथ यसवर्ष अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदैछ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयोजनमा आज विभिन्न कार्यक्रम हुँदैछ भने गैरसरकारी संघसंस्थाहरुले पनि विभिन्न कार्यक्रम गर्दैछन् ।
दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिलाई दयामाया नभई आत्मसम्मान एवम् अधिकारसहितको जीवनको सुनिश्चितता गरी विकासको मूल प्रवाहमा ल्याउनुपर्ने बताउनुभएको छ । सबैको सामूहिक प्रयासबाट अपाङ्गता भएका व्यक्तिलाई हेर्ने परम्परागत दृष्टिकोणबाट परिवर्तन गरी उनीहरूको आत्मसम्मानसहितको मर्यादित जीवन सुनिश्चित गर्न सकियोस् भन्दै सम्बद्ध सबैमा राष्ट्रपतिले शुभकामना व्यक्त गर्नुभएको छ ।
विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदनानुसार संसारमा कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले जनाएअनुसार अपाङ्गता भएका व्यक्ति ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् ।