राजविराजमा निषेधाज्ञा हट्यो

२०७२ मंसिर १८ गते, शुक्रबार

काठमाडाै‌,१८ मंसिर । सप्तरी प्रशासनले राजविराज नगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाइएको छ । गत मङ्सिर ६ गते सप्तरीमा प्रहरीको गोलीबाट तीनजना आन्दोलनकारीको मृत्युपछि सदरमुकाम राजविराजसहित जिल्लाको भारदह, रुपनीमा स्थानीय प्रशासनले लगाइएको निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार जिल्लाको भारदह र रुपनीमा बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र यथावत् नै छ । सदरमुकाम राजविराजमा स्थिति शान्त देखिएकाले यहाँको निषेधाज्ञा तत्कालका लागि हटाइएको उनले बताए ।
पूर्व–पश्चिम राजमार्गको कोसी ब्यारेजदेखि बलान खोला र गाईघाट कदमहा सडकखण्डको ५०० मिटरमा पर्ने उत्तर र दक्षिण क्षेत्रमा राति ८ देखि बिहान ७ बजेसम्म लगाइएको निषेधाज्ञा जारी नै रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी मङ्सिर ५ र ६ गते सप्तरीमा प्रहरीको गोलीबाट मृत्यु भएका परिवारलाई मधेसी मोर्चाले क्रिया खर्चबापत रु २५ हजारका दरले सहयोग गर्ने बताइएको छ ।
राजमार्ग खुलाउने क्रममा आन्दोलनकारी र प्रहरीबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर पूर्व—पश्चिम राजमार्गको रुपनीमा मृत्यु भएका जोमनी मधेपुरा–९ का नागेश्वर यादवको परिवारलाई क्रिया खर्चबापत रु २५ हजार प्रदान गरिएको राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिए ।
यस्तै सोही क्रममा भारदहमा मृत्यु भएका डढा–१ का नरेन राम, राजविराज नगरपालिका– १ का दिलीप साह र आन्दोलकै क्रममा करेन्ट लागेर मृत्यु भएका शिवशङ्कर दासको परिवारलाई मधेसी मोर्चा सप्तरीले क्रिया खर्चबापत रु २५ हजारका दरले रकम प्रदान गर्ने निर्णय गरिएको जिल्ला संयोजक सुनिल झाले बताए । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सहिद मित्रमणी आचार्यको शालिक अनावरण

२०८२ बैशाख १९ गते, शुक्रबार

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार