आप्रवासी सप्ताह मनाइँने
काठमाडौ, २८ मंसिर । आगामी डिसेम्बर १८ तारिख अर्थात पुस ३ गते पर्ने आप्रवासी कामदार दिवस सरकारले सप्ताहव्यापीरुपमा मनाउने भएको छ । सबैभन्दा बढी विदेशमा कामदार जाने २७ जिल्लामा मन्त्रालय र यस क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाहरुले जनचेतनामूलक कार्यक्रमहरु गर्दै साताव्यापी रुपमा मनाउने तयारी गरिएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले जानकारी दिए । दिवसका दिन भने राजधानीमा भृकुटीमण्डपमा प्रभातफेरी तथा विविध कार्यक्रम आयोजना गरिने भएको छ । हाल विश्वभर २३ करोड २० लाख मानिस आप्रवासीका रुपमा रहेको तथ्यांक छ ।
वैदेशिक रोजगारीमा रहँदा पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम् मानवअधिकार प्राप्ति आदिमा आप्रवासी कामदार भएकै कारण विभेद् नहोस् भनेर संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदारको हकसम्बन्धी महासन्धि पारित गरेको दिन डिसेम्बर १८ लाई आप्रवासी कामदार दिवसका रुपमा मनाउने गरिएको छ ।