रौतहट विहानैदेखि तनाबग्रस्त
काठमाडौं, ५ पुस । रौतहटको गौरमा प्रहरीको गोली लागेर एक जना आन्दोलनकारीको ज्यान गएको छ । विपी चोकमा प्रहरीको गोली लागेर तेजापाकड गाविसका २० वर्षे कबरेज आलमको मृत्यु भएको हो । प्रहरीको गोली लागि अरु तीन जना प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै प्रदर्शनकारीको आक्रमणबाट २ जना प्रहरी पनि घाइते भएका छन् । प्रहरीको गोलीले घाइते आलमललाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएको भएपनि केही बेरमै मृत घोषणा गरिएको अस्पतालका सुपरिटेण्डेट कृष्ण शाहीले जानकारी दिनुभयो ।
प्रहरीले पटक पटक आफूमाथि आक्रमण नगर्न गरेको आग्रहलाई बेवास्ता गर्दै प्रदर्शनकारीले ढुंगामुढा र प्रेट्रोल बमसमेत हानेका कारण स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउन बाध्य भएको जनाएको छ । शुक्रबार संयुक्त मधेसी मोर्चाले थप आन्दोलनका कार्यक्रम घोषणा गरे लगत्तै रौतहटमा प्रदर्शन सुरु भएको हो । प्रदर्शनका क्रममा प्रदर्शनकारीले आइतबार प्रहरीमाथि पेट्रोल बमसमेत हानेको प्रहरीले दावी गरेको छ ।